विश्वकप छनोटमा नेपाल अपराजित हुँदै च्याम्पियन

एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा ६ खेलमा अपराजित रहँदै नेपालले जित्यो उपाधि

शनिबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बनेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा सहभागी नौ टोलीमा नेपालले सुपर सिक्समा सर्वाधिक १० अंक जोड्दै उपाधि उचालेको हो । सुपर सिक्सकै शुक्रबार अन्तिम खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी सामोआमाथि एक सय २४ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

एक खेल हारेको ओमान पाँच खेलबाट ८ अंक जोड्दा दोस्रो स्थानमा रह्यो । नेपाल र ओमानसँग पराजित भएको युएईले ६ अंकसहित तेस्रो स्थानमा रहेर विश्वकपमा छनोट भयो । ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको विशाल योगफल खडा गर्‍यो । छनोट खेलमा नेपालले पहिलोपटक विपक्षीलाई दुई सयमाथिको लक्ष्य दिएको हो । प्रत्युत्तरमा सामोआले २० ओभरमा सात विकेट गुमाएर ८७ रन मात्र बनायो । सामोआविरुद्ध आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेका थिए । बलिङतर्फ ललित राजवंशीले तीन विकेट लिए । 

‘हामी भारतका लागि टिकट काट्न सफल भएका छौँ । जहाँ भारतसँगै, इंग्ल्यान्ड र अस्ट्रेलियाजस्तो टिमसँग खेल्ने अवसर पाउनेछौँ । यो निकै गर्वको कुरा हो,’ कप्तान रोहितकुमार पौडेलले भने, ‘यो १५ दिन निकै व्यस्त रह्यौँ । धेरै राम्रो क्रिकेट पनि खेलेका छौँ ।’ भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा नेपाल, ओमान र युएई छनोट भएका छन् । विश्वकप आगामी ७ फेब्रुअरीदेखि ८ मार्चसम्म हुँदै छ । एसियन छनोटमा मलेसिया, पपुवा न्युगिनी र कुवेत सुपर सिक्समा पुग्न सकेनन् । 

आसिफ र दीपेन्द्रको अर्धशतक 
नेपालको ब्याटिङ इनिङ्समा आसिफ र दीपेन्द्रले आक्रामक अर्धशतक बनाए । ओपनर आसिफले ४१ बलमा सात चौका र चार छक्कासहित सर्वाधिक ६९ रन बनाए । उपकप्तान दीपेन्द्रले ३३ बलमा चार छक्का र दुई चौकासहित ५३ रनको योगदान गरे । पाँचाैँ खेलमा अवसर पाएका लोकेश बमले अविजित ३९ रन जोडे । कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन बनाएका हुन् । पहिलो विकेटका लागि आसिफ र कुशलले ६४ रनको साझेदारी गरेका थिए । पाँचौँ विकेटका लागि लोकेश र रोहितबिच अविजित ५१ रनको साझेदारी भएको थियो । 

सामोआविरुद्ध बलर हाबी
नेपाली बलर हाबी भएपछि सामोआका ब्याट्सम्यानले विशाल लक्ष्य पछ्याउन सकेन । उनीहरूको ब्याटिङमा ठुलो साझेदारी भएन । नेपालका स्पिनर ललित राजवंशीले चार ओभरमा एक मेडनसहित मात्र १३ रन खर्चिएर तीन विकेट लिए । लेगस्पिनर सन्दीप लामिछानेले १० रन दिएर एक विकेट हात पारे । अन्तिम खेलमा अवसर पाएका करण केसीले एक तथा कप्तान रोहितले एक विकेट लिए । सामोआका सेअन सोलिआले सर्वाधिक ४० रन बनाएका थिए । बेन्जामिन माइलाताले ११ रन जोडेका हुन् । 

भारत, अस्ट्रेलिया र इंग्ल्यान्डसँग खेल्ने सपना छ

रोहित पौडेल कप्तान, नेपाल

लगातार दोस्रोपटक विश्वकपमा पुग्नुपछाडि टिमवर्क हो । टिमको प्रदर्शनलाई लिएर म मात्र नभएर सबै गौरवान्वित भएका छन् । अर्को वर्ष हामी भारतमा गएर विश्वकप खेल्दै छौँ । त्यहाँ पनि यहाँजस्तै नेपाली समर्थक आउने विश्वास छ । उहाँहरूले हामीलाई कठिन अवस्थामा रहेका वेला आत्मविश्वास दिलाउनुहुन्छ । सुपर सिक्सको पहिलो दुई खेलमा दर्शककै कारण हामीले उत्कृष्ट पुनरागमन गरेका थियौँ ।

अब हामी सबैलाई भारतमा गएर भारतविरुद्ध, अस्ट्रेलिया र इंग्ल्यान्डजस्तो बलियो टेस्ट राष्ट्रसँग खेल्ने सपना छ । गत विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलले खेलाडीमा आत्मविश्वास बढायो । अब हामी टेस्ट राष्ट्रलाई हराउने लक्ष्यमा छौँ । विश्वकप छनोटमा सुरुवात खेलमा ब्याटिङभन्दा बलिङ र फिल्डिङले साथ दियो । त्यसपछि सबै ब्याटिङ पनि चल्यो । विशेष गरी आआफ्नो पोसेसनमा सबैले योगदान दिएका छन् । ओपनिङमा कुशल उत्कृष्ट फर्ममा देखिए ।

दीपेन्द्रसिंह र सन्दीप दाजुहरूले आवश्यक परेका वेला आफ्नो अनुभव पोख्नुभयो । विशेष गरी कतारसँगको खेलमा सन्दीप दाजुको बलिङ उत्कृष्ट थियो । गुल्सनले पनि हाम्रो मुभमेन्टम बलियो बनाए । यसैगरी, सोमदाइले नेपाललाई आवश्यक परेका वेलामा क्रुसल विकेट दिलाउनुभयो । यी सबै प्याकेज प्रदर्शनका कारण हामी विश्वकपमा पुगेका हौँ । भारत र श्रीलंकामा हुने विश्वकपमा विश्वप्रसिद्ध खेलाडी आउनेछन् । नेपालले उनीहरूलाई उनीहरूकै स्तरमा प्रतिस्पर्धा गर्न तयार छौँ भन्ने यस छनोट खेलबाट दिएको छ । 

नेपाललाई सात वर्षपछि आइसिसीको उपाधि
विश्वकप छनोटको अन्तिम खेलमा सामोआलाई हराएसँगै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपालले सात वर्षपछि आइसिसीको उपाधि जित्न सफल भएको हो । नेपालले सन् २०१८ अक्टोबरमा अन्तिमपटक आइसिसीको पछिल्लो उपाधि जितेको थियो । सन् २०१० मा नेपालले पहिलोपटक त्रिवि मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ जितेको थियो । नेपालले जितेको आइसिसीको पहिलो प्रतियोगिता हो । सन् २०१२ मा डिभिजन–४ को उपाधि नेपालले हात पारेको थियो । नेपालले सन् २०१३ र २०१४ मा डिभिजन–३ को उपाधि हात पारेको थियो । नेपालले डिभिजनस्तरका आइसिसीका चार प्रतियोगिताको उपाधि जितेको थियो । मलेसियामा भएको आइसिसी टी–२० इस्टर्न उपक्षेत्रीय छनोट ‘बी’को उपाधि नेपालले जितेको थियो । नेपालले समग्रमा आइसिसीको छैटौँ उपाधि हात पार्‍यो । 

सुझावित समाचार