सशस्त्र प्रहरीमा एकैपटक १६८ जना अधिकृतको कमान्ड जिम्मेवारी बदली

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटकमा १६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमान्ड जिम्मवारी बदली गरेको छ ।  जसमा सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायब निरीक्षक ४९ जना गरी जम्मा १६८ जनाको जिम्मेवारी बदली गरेको हो।

सशस्त्र मुख्यालयले कमान्डमा खटिने अधिकृतहरुको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरूलाई नै कमान्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यसबाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई कामान्डमा प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र  थापाले जानकारी दिए।

वर्तमान अवस्थामा राजस्व संकलनलाई विशेष जोड दिँदै सोही कार्यमा विगतका ट्र्याक रेकर्डअनुसार अधिकृतहरूलाई जिम्मेवारी दिने नीति संगठनको रहेको उनको भनाइ छ। यसैगरी लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटहरूमा खटाइएको छ । अनिवार्य अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरूलाई प्राथमिकतामा राखी कमान्ड जिम्मेवारीमा खटाउने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ ।

सुझावित समाचार