गृहसचिव रामेश्वर दंगालले आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनको लागि निर्वाचन पूर्वसुरक्षा योजना बनाई कामकारबाही गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उनले निर्वाचनको तयारीमा जुट्न भनेका हुन् ।
कार्यक्षेत्रमा परिचालित हुँदा जनताप्रति प्रत्यक्ष रूपमा उत्तरदायी भएर लाग्नुपर्नेमा उनले जोड दिए । दंगालले भने, ‘हामीले गर्ने दैनिक क्रियाकलापमा आफ्नो सोच, विचार, व्यवहार र कार्यशैली समयानुकूल परिवर्तन गर्न सकियो भने जस्तोसुकै कार्यमा समेत सफलता मिल्छ ।’
सीमित स्राेतसाधनको बाबजुद पनि उपलब्ध जनशक्ति तथा साधनस्राेतको अधिकतम उपयोग गरी विभिन्न आन्दोलन, आपतविपतमा परेकाहरूको उद्धार, बाढीपहिरो तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै विपत् व्यवस्थापनमा समयमै परिचालित हुन सकिएमा मात्र आमनागरिकहरूको धनजनको क्षति हुनबाट जोगाउन सकिने बताए।
गृहसचिव दंगालले सशस्त्र प्रहरी बल, नेपालले लिएको ‘बर्ड’को अवधारणा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस कार्यले विपत् व्यवस्थापन, आन्तरिक सुरक्षा, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण कार्यसमेत थप व्यवस्थित हुने बताए। सशस्त्र प्रहरी बल नेपालका लागि थप जनशक्ति तथा भिड नियन्त्रणलगायतका साधनस्राेतबाट सम्पन्न गरी थप मजबुद बनाउँदै सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणलाई समेत क्रमिक रूपमा व्यवस्थित गर्दै लैजाने कार्यमा मन्त्रालय सदैव सकारात्मक रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरूप सुरक्षा प्रदान गर्दै आइरहेको, संगठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचालित हुँदै आइरहेको बताए।
सधैँ शान्तिको परिस्थिति रहन्छ भन्ने कल्पना सुरक्षा निकायले गर्न नसक्ने भन्दै सुरक्षा निकायको आवश्यकता र औचित्य असामान्य, चुनौतीपूर्ण तथा अप्रिय परिस्थितिमा प्रदर्शन गर्ने कार्यकुशलता, निडरता र सुझबुझबाट प्रमाणित हुने उल्लेख गरे । आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल, नेपालले आन्तरिक शान्ति सुरक्षा कायम गर्ने भूमिका निर्वाह गर्न पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ ।
महानिरीक्षक अर्यालले विभिन्न आन्दोलनहरूको शान्तिपूर्ण व्यवस्थापनको लागि हुल तथा दंगा नियन्त्रणमा सक्षम विशेष इकाइको स्थापना तथा विकास, बख्तरबन्द सवारीसाधन, वाटर क्यानन, दंगा नियन्त्रण उपकरण तथा नियन्त्रित सामग्री तथा नेपालमा थप जनशक्तिको व्यवस्थापन गरी सीमा इलाकामा आवश्यक बिओपीहरूको संख्या थप गर्न नीतिगत र बजेट व्यवस्थापन गर्न मन्त्रालयको आवश्यक सहयोग हुनुपर्ने बताए।
निरीक्षणका क्रममा गृहसचिव दंगालले प्रधान कार्यालयमा विपत् उद्धारमा प्रयोग हुने सामग्रीको अवलोकन गरेका थिए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले सशस्त्र प्रहरी बल नेपालबारे प्रस्तुतीकरण गरेका थिए ।