- डिजिटल रेकर्ड भएका जग्गाधनीको हकमा लामो प्रक्रिया आवश्यक नपरे पनि स्रेस्ता डिजिटलाइज नभएको जग्गाधनीले भने ११ थरी कागजपत्र लिएर निवेदन दिनुपर्ने
जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालयहरूमा भएको आगजनीमा अभिलेखहरू जलेपछि सर्वसाधारणले नयाँ जग्गाधनी दर्ता स्रेस्ता बनाउनुपर्ने भएको छ । खास गरेर डिजिटलाइज नभएका ठाउँमा जग्गाधनी स्रेस्ता बनाउन लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्नेछ ।
सबै जग्गाको स्रेस्ता डिजिटलाइज भइनसकेकाले आगजनीमा स्रेस्ता नष्ट भएको छ । यस्तो ठाउँमा नयाँ जग्गाधनी स्रेस्ता बनाउन विभिन्न मालपोत कार्यालयले ११ थरी कागजपत्र लिएर निवेदन दिन सर्वसाधारणलाई सूचना जारी गरेका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्यका अनुसार जेन–जी आन्दोलनको क्रममा २१ वटा मालपोत कार्यालयमा क्षति पुगेको छ । त्यसमध्ये कतिपय कार्यालयमा अभिलेख जलेपछि भूमि प्रशासन निर्देशिका, २०८१ अनुसार नयाँ स्रेस्ता बनाउने प्रक्रिया अघि बढाइएको छ ।
‘धेरै जग्गाको स्रेस्ता डिजिटलाइज भइसकेको छ, कतिपयको बाँकी नै थियो,’ उनी भन्छन्, ‘डिजिटलाइज भएको हकमा नयाँ स्रेस्ता बनाउन सहज हुन्छ, अन्यको हकमा प्रक्रिया लामो हुन सक्छ ।’
मालपोत कार्यालय, कलंकी, कास्कीलगायतले ११ थरी कागजपत्रसहित निवेदन दिन सूचना निकालेका छन् । नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, सक्कल पुर्जा, सक्कल लिखतको प्रमाणित प्रति, फिल्डबुक नक्सा, मालपोत बुझाएको रसिद, रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकताअनुसार स्थलगत सर्जमिन, आवश्यकताअनुसार ३५ दिने सूचना, गुठी जग्गाको हकमा गुठी संस्थाको सहमतिपत्र र अन्य प्रमाणहरूसहित निवेदन दिन भनिएको छ ।
विभिन्न मालपोत कार्यालयले ११ वटा कागजपत्रसम्बन्धी उपस्थित हुन सूचना जारी गरेपछि सर्वसाधारण तनावमा छन् । विभागका निर्देशक आचार्यका अनुसार यस विषयमा धेरैले फोन गर्दै चासो र चिन्तासमेत व्यक्त गरिरहेका छन् । निर्देशक आचार्यका अनुसार डिजिटल रेकर्ड भएका जग्गाधनीको हकमा भने यति लामो प्रक्रिया आवश्यक पर्नेछैन ।
‘डिजिटल रेकर्ड भएकाहरूको हकमा प्रक्रिया सरल बनाउनेसम्बन्धी प्रस्ताव मन्त्रालयमा पठाएका छौँ,’ उनले भने, ‘अन्यको हकमा भने आवश्यकताअनुसार सर्जमिनदेखि ३५ दिने सूचनासम्मको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।’ कसैले नक्कली लालपुर्जा बनाएर दाबी गर्न सक्ने तथा एउटै जग्गा धेरैले दाबी गर्न सक्ने जोखिम भएकाले पनि यो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
हालै सुकुम्बासीलगायतलाई सरकारले सरकारी जग्गाको लालपुर्जा वितरण गरेको छ । मालपोत कार्यालयको स्रेस्ता जलेको अवस्थामा कसैले नक्कली लालपुर्जा बनाएर दाबी गर्न सक्ने भएकाले त्यसमा छानबिन गर्न निर्देशन दिइएको छ ।
१० मालपोत कार्यालयमा धेरै क्षति
आन्दोलनका क्रममा देशभरिका २१ मालपोत कार्यालयमा क्षति पुगेकोमा १० कार्यालयमा ठुलो क्षति भएको छ । काठमाडौंको कलंकीसहित कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनी मालपोतमा आगजनी र तोडफोडका कारण ठुलो क्षति भएको छ । धेरै क्षति भएका मालपोत कार्यालयमा तत्काल सेवा सुरु गर्न कठिन भएको छ । क्षति भएका २१ बाहेक अन्य मालपोत कार्यालयले भने सेवा सुरु गरिसकेका छन् ।