बागमती प्रदेशमा विपतका ३५ घटना, एकको मृत्यु

विपत् व्यवस्थापनका लागि पाँच करोड ४० लाख निकासा

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

मनसुनजन्य विपत्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले पाँच करोड ४० लाख रुपैयाँ निकासा गरेको छ । १८ र १९ असोजमा परेको अविरल वर्षाबाट उत्पन्न विपत्को व्यवस्थापनलाई लक्षित गर्दै प्रदेश सरकारले सो परिमाणको बजेट स्थानीय तहहरूमा उपलब्ध गराएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायहरू सम्मिलित ‘युनिफाइड टिम’ गठन गरी प्रतिकार्यामा खटाइएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको टिमको बैठकले खोज, उद्धार र राहतका लागि तत्काल कदम चाल्न निर्देशन दिएको थियो ।

मन्त्रालयका विपत् व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनालका अनुसार प्रदेश विपत् व्यवस्थापन परिषद्को निर्णयअनुसार २१ वटा स्थानीय तहलाई दुई करोड १० लाख र १६ वटा स्थानीय तहलाई दुई करोड ६५ लाख रुपैयाँ पूर्वतयारी तथा जोखिमयुक्त क्षेत्र संरक्षणका लागि निकासा गरिएको हो । साथै, प्रत्येक जिल्ला विपत् व्यवस्थापन समितिलाई पाँच लाखका दरले ६५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । खनालका अनुसार मनसुनपूर्व तयारीअन्तर्गत प्रदेशका १६ पालिकामा विपत् उद्धार सामग्रीसहितका गोदामघरसमेत निर्माण गरिएको छ ।

मन्त्रालयको विवरणअनुसार १८ असोजको वर्षाबाट प्रदेशभर ३५ वटा विपत्का घटना भएका छन् । ती घटनाबाट १६२ परिवार प्रभावित भएका छन् भने काभ्रेपलाञ्चोकमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । यस्तै, रसुवामा बाढीका कारण चारजना बेपत्ता भएका छन् । ललितपुरमा पहिरोमा परी दुई र मकवानपुरमा चट्याङ लागेर एकजना घाइते भएका छन् । यी घटनाबाट करिब चार लाख ५० हजार रुपैयाँबराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । 

मनसुनी वर्षाबाट अवरुद्ध प्रदेश राजधानी हेटौँडाबाट सिस्नेरी, फाखेल, हुमानेलगायत प्रादेशिक सडक २४ घण्टाभित्रै सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्तै, काभ्रेका बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका सडक सुचारु गर्न स्थानीय तह र निर्माण व्यवसायीबिच समन्वय भइरहेको महाशाखा प्रमुख खनालले जानकारी दिए । यसैगरी, ललितपुरमा एकतर्फी सडक खुलाउने प्रयास जारी छ भने रामेछापमा सडक सञ्चालनमा आइसकेको छ । मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा, नौबिसे–हेटौँडा र फर्पिङ–हेटौँडा सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ ।

अविरल वर्षाका कारण अवरुद्ध सडकमा फसेका १०३ जना आपत्कालीन यात्रु र पर्यटकलाई उद्धार गरिएको बागमती प्रदेश यातायात निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक इन्जिनियर नवीन सिंहका अनुसार १८ असोज राति महालक्ष्मी खोलामा खसेको पहिरो पन्छाई १५ वटा सवारीसाधनलाई सुरक्षित रूपमा काठमाडौं पठाइएको थियो ।

सुझावित समाचार