घरभित्र पसेको बाढी नघट्दा सप्तरीका बाढीपीडित त्रिपालमुनि

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण
घरभित्र पसेको बाढी नघट्दा सप्तरीका बाढीपीडित त्रिपालमुनि

सप्तकोशी नदीको बाढीले विस्थापित भएर कोशी पश्चिमी तटबन्ध सडकमा त्रिपाल लगाएर बसेका हनुमाननगर कंकालिनी नगरपालिका– ७ सदा बस्तीका बासिन्दा । तस्बिर : नयाँ पत्रिका

सप्तकोशीको बाढी घरमा पसेपछि शनिबार विस्थापित भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७, सदा बस्तीका ३५ वर्षीय दिलीप मरिक चारजनाको परिवारसहित  सडकमा त्रिपाल टाँगेर ओत लागेका छन् । ‘सुतिरहेका वेला बाढी आयो । ‘अन्न, ओढ्ने–ओछ्याउने केही जोगाउन सकिएन । त्रिपाल टाँगेर बसेका छौँ, घर कसरी फर्किने बाढीले केही राखेको छैन,’ उनले भने, ‘कच्ची घरमा अझै चार फिटसम्म पानी छ । कति दिन सडकमा बास हुने हो, ठेगान छैन ।’

सदा बस्तीकै बलदेव सदा पनि एक नाबालक नाति, पाँच छोराछोरी र श्रीमतीसहित सडकको छेउमा बस्न थालेको दुई दिन भएको छ । ‘बाढीले कच्ची घरभित्र हिलो लगेर थुपारिदिएको छ । अहिले पनि पानी छ, बस्न सक्ने अवस्था छैन,’ उनले भने ।

४० वर्षीय गुदी राउत शनिबार साँझको बाढीले आफूहरू त्रिपालमुनि बसिरहेको र चिउरा, मुरही किनेर खाइरहेको बताए । ‘हामीलाई कुनै सहयोग आएको छैन, पकाएर खाने अवस्था पनि छैन । चिउरा, मुरही किनेर खाइरहेका छौँ,’ उनले भने । 

सदा बस्तीका डेढ सय घरमा पानी पसेपछि उनीहरू विस्थापित भएका हुन् । यी परिवार कोशी पश्चिमी तटबन्ध सडकमा त्रिपालमुनि बसिरहेका छन् । बाढीले कतिपयको अन्नपात पनि भिजाएको बलदेवले बताए । ‘बाढी आउँदा बस्तीमा कम्मरसम्म डुबान भयो । बालबालिका र बुढापाकालाई सडकमा ल्यायौँ,’ उनले भने, ‘त्रिपालमुनि जसोतसो बसिरहेका छौँ । घरभित्रको हिलो सुकेपछि फर्कन्छौँ ।’ 

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले पालिकाका वडा ५, ७, १२, १३ का चार सय बाढीपीडित परिवारका लागि सामूहिक मेस चलाएर खानाको व्यवस्था गरेको बताए । ‘अहिले खानाको व्यवस्था गरेका छौँ, अब राहत बाँड्छौँ,’ उनले भने । उनका अनुसार घरभित्र अझै पाँचदेखि सात फिट पानी छ । पानी सुकेका घरमा पनि हिलो भरिएको छ ।

सप्तकोशी, जिता नदी र त्रियुगा नदीको बाढी बस्तीमा पस्दा सप्तरीमा हनुमाननगर कंकालिनी र सप्तकोशी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका करिब एक हजार घर परिवार विस्थापित भएका थिए । तर, तीमध्ये केही घर फर्किसकेको स्थानीय प्रशासनले जनाएको छ । 

वीरगन्जका बाढीपीडित धर्मशालामा 
सिर्सिया नदीको बाढीबाट विस्थापित भएका वीरगन्ज महानगरपालिका– ११, रानीघाट नदीछेउका ५० घरपरिवार नजिकैको धर्मशालामा बसिरहेका छन् । स्थानीय शान्तिदेवी डोमले शनिबारको वर्षापछि सिर्सिया नदीको पानी फुसको घरमा पसेपछि सुरक्षाकर्मीको आग्रहमा आफूहरू धर्मशालामा बस्दै आएको बताइन् । ‘जग्गा छैन, भाडाको जग्गामा फुसको घर बनाएर बसिरहेका थियौँ, बाढीले घरभित्रको सबै चिज लग्यो,’ उनले भनिन्, ‘अहिले त प्रहरी र स्थानीय जनप्रतिनिधिले खाना खुवाउँदै हुनुहुन्छ । घर फर्किएपछि के खाने चिन्ता छ ।’

घरमा पानी पसेपछि सोही बस्तीकी ललसादेवी पनि पाँचजनाको परिवारसहित सार्वजनिक धर्मशालामा बस्दै आएकी छिन् । हरिन्द्रमली डोमले बाढीले घरमा रहेका खाद्यान्न, लत्ताकपडा, कागजात बगाएर लगेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पर्सामा बाढी र डुबानबाट प्रभावित पाँच सय घरपरिवार विद्यालय, धर्मशाला, क्लबका भवनमा बसिरहेको बताए । 

खाँदबारी–किमाथांका सडक ठप्प
लगातार दुई दिन परेको वर्षाले संखुवासभाको विभिन्न ठाउँमा क्षति र भौतिक संरचना जोखिममा परेका छन् । पहिरोका कारण खाँदबारी–किमाथांका सडकखण्ड पूर्ण रूपमा ठप्प छ । मकालु गाउँपालिका– ३ एकुवा र भोटखोला गाउँपालिका– ४ बरुणनदीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । वर्षाले सदरमुकाम खाँदबारीस्थित नेपाली सेनाको इन्द्रदल गुल्म र जिल्ला कारागार उच्च जोखिममा परेको छ । चैनपुर नगरपालिकामा रहेको नगर अस्पताल र धेरै बस्ती उच्च जोखिममा छन् । वर्षाले खाँदबारीस्थित नेपाली सेनाको इन्द्रदल गुल्मको केही भाग पहिरोको जोखिममा परेको छ । डाँडामा रहेको गुल्मको बाहिरी जमिनका भाग चिराचिरा पर्न थालेको गुल्मको भनाइ छ । खाँदबारीमा रहेको जिल्ला कारागारको करिब ३० मिटर लामो बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले बताए । कारागारको तल्लो भागमा ठुलो पहिरो खसेपछि भवनसमेत जोखिममा परेको उनले बताए ।

 

सुझावित समाचार