आगामी २१ फागुनका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । सोमबार बसेको निर्वाचन आयोगको बैठकले दल दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय १ देखि १० मंसिरसम्म तोकिएको छ । आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले निर्वाचनमा भाग लिन चाहनेले ३० कात्तिकअघि राजनीतिक दल दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रत्यक्ष निर्वाचितका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । १८–१९ पुसमा बन्दसूची पेस गर्ने समय निर्धारिण गरिएको छ ।
३ देखि १८ फागुनसम्म निर्वाचन प्रचारप्रसारको समय छुट्याइएको छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । २१ फागुनमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका मतपेटिका संकलनपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ । निर्वाचनका लागि आयोगले ३० कात्तिकसम्म मतदाता नामावली संकलन जारी राख्ने जनाएको छ ।