बर्दियामा सवारी दुर्घटनाको ग्राफ : चार वर्षमा १४८ जनाको मृत्यु

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

बर्दियामा चार वर्षयता भएका सवारी दुर्घटनामा झन्डै डेढ सयजनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक कार्यालयका अनुसार पछिल्लो चार वर्ष तीन महिनामा सवारी दुर्घटनामा परी १४८ जनाले ज्यान गुमाएका छन्।

सवारीसाधन दुर्घटनामा परी ज्यान गुमाउने बढ्दै गएपछि सडक सुरक्षासमेत चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ। ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक तथा सूचना अधिकारी महेन्द्रसिंह भण्डारीका अनुसार बर्दियामा सवारी दुर्घटनामा परी चालू आर्थिक वर्ष ०८२/८३ को १० असोजसम्म पाँचजनाको, आर्थिक वर्ष ०८१/८२ मा ३८ जनाको, आर्थिक वर्ष ०८०/८१ मा २६ जनाको, आर्थिक वर्ष  ०७९/८० मा ३३ जनाको र आर्थिक वर्ष ०७८/७९ मा ४६ जनाको ज्यान गएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी निरीक्षक सुधीरकुमार खड्काले ट्राफिक प्रहरीले सडक दुर्घटना रोक्नमा चेकजाँच तथा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए। उनले भने, ‘सडकमा यात्रा गर्ने पैदल यात्री र सवारीचालकले ट्राफिक नियमको पालना गर्दा मात्र पनि सडक दुर्घटना कम गर्न सकिन्छ। अझ चाडपर्वमा यात्रा गर्दा यात्रुहरूलाई सहज होस् भनेर सहायता कक्ष राखिएको छ।’

यसकारण दुर्घटना बढ्दो 
क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्र गतिमा सवारीसाधन चलाउने यात्रुवाहक गाडीबिच हुने अस्वस्थ प्रतिस्पर्धा, मादक पदार्थ र  लागुऔषधको कारण सडक दुर्घटना बढिरहेको छ। 

अझै विशेष गरी ठुला सवारीसाधनले हेडलाइट डाउन नगर्ने जस्ता कारणबाट सवारी दुर्घटना बढ्दै गएको छ। सडक सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको ऐन, नियम, निर्देशिका तथा कार्य योजनाहरूको प्रभावकारी कार्यान्वयन पक्ष फितलो हुँदा दुर्घटनामा कमी आउन सकेको छैन। 

सुझावित समाचार