बर्दियामा गोहीको आक्रमणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका–४ राजीपुरका २५ वर्षीय विवश थारू अझै फेला परेका छैनन्।
सोमबार दिउँसो ३ बजेतिर गेरुवा नदीमा भैँसीलाई पानी खुवाउन गएका थारू गोहीले आक्रमण गरेपछि नदीमा खसेका थिए। लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थारूलाई दिनभर खोजेका थिए।
नदीमा खसेका थारूको लगातार तीनदेखि खोजी भइरहेको छ। थारूलाई खोज्नका लागि दुई वटा हात्ती, दुईवटा राफ्टिङसहित नेपाली सेना, राष्ट्रिय निकुञ्जको कर्मचारी परिचालन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए।
यसअघि मधुवन नगरपालिका– १ कैलाशीका १९ वर्षीय रूपमिलन थारूको पनि गोहीको आक्रमणबाट मृत्यु भएको थियो। उनी साउन १९ गते ठाकुरबाबा नगरपालिका– ९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्न जाँदा गोहीले आक्रमण गरी बेपत्ता पारेको थियो। साउन २५ गते उनको शव घटनास्थलबाट करिब एक किलोमिटर अगाडि फेला परेको थियो।