अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकै वर्ष दुईपटक वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । एन्फाले मंगलबार घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितासहित नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो । गत वैशाखमा धुलिखेलमा भएको साधारणसभामा एन्फाले वार्षिक गतिविधितसहितको क्यालेन्डर सार्वजनिक गरेको हो । गत वैशाख २६ मा वर्ष २०८२ को क्यालेन्डर अनुसार एन्फाले कुल ३५ कार्यक्रम सार्वजनिक गरेको थियो । नयाँ क्यालेन्डरमा १५ खेल समावेश छन् ।
योपटक एन्फाले पुरुषभन्दा महिला सहभागी खेललाई पहिलो प्राथमिकतामा राखेको छ । एन्फाले महिला फुटबलरलाई सक्रिय बनाउन घरेलु तथा अन्तर्राष्ट्रिय खेलहरू थपेको छ । महिला टोलीले केही अन्तर्राष्ट्रिय फुटबल खेल्नेछन् । एन्फाले महŒवपूर्ण फुटबल प्रतियोगिताका रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) सूचीबाट हटाइएको छ । यसअघिको क्यालेन्डरमा एनएसएल समावेश गरिएको थियो । तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको स्थानमा पुरुष खेलाडीहरूले एनएसएल लिगमा आबद्ध हुँदै आफूलाई सक्रियता बनाइरहेका छन् ।
तर, एनएसएल लिग क्यालेन्डरमै समावेश हुँदा अब व्यावसायिक फुटबल खेल्ने सपना बोकेका खेलाडीहरूले यो वर्ष त्यत्तिकै बस्नेछन् । एन्फाका प्रवक्ता सुरेश शाहले एनएसएल लिग आफूहरूको नभएकाले क्यालेन्डरमा समावेश नगरेको बताएका छन् । ‘एनएसएल लिग एन्फाले आयोजना गर्ने होइन,’ शाहले भने, ‘यसको आयोजक अर्कै हो । उहाँहरूले नै प्रतियोगिताको मिति तय गर्नेछ । हामीले अन्य फुटबल प्रतियोगितासँग नजुध्ने गरी मिति दिन्छौँ ।’
प्रवक्ता शाहले चौथो संस्करणको एनएसएलका आयोजकलाई प्रतियोगिता गर्न सेप्टेम्बरदेखि नोभेम्बरसम्म समय दिएको बताए । एन्फाले नयाँ क्यालेन्डरलाई संशोधन गरिएको जनाएको छ । ‘यो नयाँ क्यालेन्डर तत्काल कार्यान्वयन हुने रूपमा सार्वजनिक गरिएको हो,’ उनले भने, एन्फाको वार्षिक क्यालेन्डर छँदै छ । त्यसमा केवल केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थपिएको हो ।’
परिमार्जित गरिइएको क्यालेन्डर २४ असोज देखि १७ चैतसम्म १५ प्रतियोगिता समावेश छ । प्रवक्ता शाहले अन्तर्राष्ट्रिय विन्डोअनुसार फुटबल प्रतियोगिताका खेल तालिका मिलाउनुपर्ने भएकाले फेरिएको बताए । एन्फाले यो वर्ष ‘ए’ डिभिजन लिगसहित एन्फा महिला च्याम्पियनसिप, सहिद स्मारक महिला लिग, महिला सुपर लिग, एन्फा प्रेसिडेन्ट लिग, एन्फा महिला लिग, ‘सी’ डिभिजन लिग, एन्फा यु–१६ युथ र १८ लिगजस्ता घरेलु फुटबलका कार्यक्रम आयोजना गर्ने मिति सार्वजनिक गरेको छ ।
तीनवटा मैत्रीपूर्ण खेल
एन्फाको परिमार्जित क्यालेन्डरमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विशेष प्राथमिकतामा पाएको छ । चैतसम्मको क्यालेन्डर सार्वजनिक हुँदा महिला टोलीले तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्नेछ । एन्फाका अनुसार महिला टोलीले पहिलो मैत्रीपूर्ण खेल ९ कात्तिकमा भारतको सिक्किममा घरेलु टोली भारतसँग खेल्नेछ । ८ देखि १६ मंसिरसम्म इन्डोनेसियामा हुने त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा महिला टोली सहभागी हुनेछ । सो प्रतियोगितामा नेपालले १० मंसिरमा इन्डोनेसियाविरुद्ध पहिलो खेल खेल्नेछ । १६ मंसिरमा चाइनिज ताइपेईसँग नेपालले दोस्रो खेल खेल्ने तालिका छ ।
महिला खेलाडी अन्तर्राष्ट्रिय मैदानमा सक्रिय रहँदा पुरुष राष्ट्रिय टोलीका कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल छैन । पुरुष टोलीले एएफसीका आधिकारिक प्रतियोगितामा खेल्नेछ । नेपाली पुरुष टोलीले २१ भदौमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
‘ए’ डिभिजन लिग ६ महिना चल्ने
एन्फाले ०७९ साल देखि आयोजना गर्न नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरु र समाप्तिको मिति सार्वजनिक गरेको छ । होम एन्ड अवे फम्र्याटमा आयोजना हुने ‘ए’ डिभिजन लिग यस वर्षको ९ पुस देखि ०८३ को २६ असारसम्म चल्ने एन्फाले जनाएको छ । यो लिग ६ महिनासम्म चल्ने छ । एन्फाले मोसफलमा समेत लिग आयोजना हुने जनाउँदा यसको मैदान भने तोकेको छैन । लिगमा सहभागी १४ क्लबहरूले होम एन्ड अवे अनुसार हुने ‘ए’ डिभिजन लिगमा प्राविधिक समस्या आउने जनाएका छन् ।
एन्फाले ‘ए’ डिभिजन लिग आयोजना र अन्य गतिविधिको निर्णय गर्न २६ असोजमा क्लबका अध्यक्ष र महासचिवहरूलाई बैठकमा बोलाएको छ । जेन–जी आन्दोलका कारण स्थगित भएको एन्फा यू–१६ लिग सुचारु हुने भएको छ । नयाँ क्यालेन्डरअनुसार यो लिग अब १६ कात्तिकदेखि ६ मंसिरसम्म चल्नेछ । यसैगरी, ललित स्मृति यू–१८ युथ लिग २९ मंसिरदेखि सुरु हुने जनाएको छ । तर, ललित स्मृति लिग कहिले सकिने एन्फाले टुंगो लगाएको छैन । यो खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
फुटसलका कार्यक्रम नै छैन
एएफसीले एएफसी फुटबल च्याम्पियनसिपको छनोट प्रतियोगितामा सहभागी नभएको एन्फालाई १० हजार डलर जरिवाना गरेको थियो । फुटसलले कारबाहीमा परेको एन्फाले परिमार्जित गरेको क्यालेन्डरमा कुनै पनि खेल समावेश गरेको छैन । गत वैशाखको क्यालेन्डरमा भने समावेश थियो । एन्फाले यसअघि फुटसल क्वालिफायर्सको पहिलो राउन्ड र दोस्रो राउन्ड हुने भनिएको थियो । फुटसलकै शीर्ष डिभिजन लिग २०२५ तेस्रो कार्यक्रम हो । यो जुलाईदेखि अगस्टसम्म सञ्चालन हुनुपर्ने थियो । एन्फा इन्टरकलेज फुटसल र एन्फा महिला फुटसल च्याम्पियनसिप अघिल्लो क्यालेन्डरमा थियो । एन्फाले इन्टरकलेज २ देखि २७ नोभेम्बरसम्म गर्ने भनेको थियो । महिला फुटसल पनि डिसेम्बरमा हुनुपर्ने थियो । अहिले यो छैन ।
सबै कार्यक्रम समयमै हुन्छ
सुरेश शाह, प्रवक्ता, एन्फा
एन्फाले यो तत्काल कार्यान्वयन हुने कार्यक्रम सार्वजनिक गरेको हो । हाम्रो वार्षिक क्यालेन्डर छँदै छ । ती पनि कार्यान्वनय हुनेछन् । केही अन्तर्राष्ट्रिय विन्डोअनुसार तालिका मिलाउनुपर्ने भएकाले समयचाहिँ फेरिएको छ । हामी आर्थिक वर्ष ०८२÷८३ भित्र सबै प्रतियोगिता निर्धारित समयमै पूरा गर्छौँ । एनएसएल लिगको विषयमा आयोजकले कुनै एजेन्डा नै ल्याउनुभएन । फेरि यो हामीहरूको कार्यक्रम होइन । उहाँहरूले प्रतियोगिता आयोजना गर्ने मिति माग्नुभयो भने हामी अन्य फुटबल प्रतियोगितासँग नजुध्ने गरी समय दिन्छौँ ।