‘वर्षौँसम्म आयोजना अलपत्र पार्ने जोकोहीविरुद्ध सरकार निर्मम बन्छ’

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काम नगरेर वर्षौँसम्म आयोजना अलपत्र पार्ने जोकोहीविरुद्ध सरकार निर्मम बन्न सक्ने संकेत गरेका छन् । तर, कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने मन्त्री घिसिङको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको आइतबारको भेटमा मन्त्री घिसिङले पूर्वाग्रही ढंगले ठेक्का नतोडिने आश्वासन दिलाए । 

ठेक्का सम्झौता गर्ने, तर लामो समयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न नहुने मन्त्री घिसिङको भनाइ थियो । ‘बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै चिज छ, तर किन काम हुँदैन ? म आफैँ पनि इन्जिनियर भएकाले सम्पूर्ण ठेक्का प्रक्रियाबारे पूर्ण जानकार छु,’ उनले भने । आफूले लिएका आयोजना तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गरी नेपालका निर्माण व्यवसायी पनि सक्षम रहेको सन्देश दिन मन्त्री घिसिङले महासंघ प्रतिनिधिमण्डलसमक्ष आग्रह गरे ।

 महासंघका अध्यक्ष रवि सिंहले सुशासन र भ्रष्टाचारमुक्त राज्य आजको आवश्यकता भएको उल्लेख गर्दै निर्माण क्षेत्रका विद्यमान समस्या र समाधानको उपायसहितको ज्ञापनपत्र मन्त्री घिसिङसमक्ष पेस गरेका थिए ।

सुझावित समाचार