अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सतुंगलस्थित चौधरी ग्रुपको सिजी डिजिटल पार्क अवलोकन गरेका छन् । मन्त्री खनालले क्षतिग्रस्त संरचना अवलोकन गर्दै आन्दोलनका कारण अर्बौँ रुपैयाँबराबरको क्षति व्यहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘निजी क्षेत्रको सक्रियता र लगानीविना यो सम्भव छैन । सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार छ ।’
जेन–जी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासमा व्यापक तोडफोड तथा आगजनी भएको थियो । तीमध्ये सिजी डिजिटल पार्क सर्वाधिक प्रभावित स्थल हो । सतुंगलस्थित यो पार्कबाट सिजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिएको थियो । साथै, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरण पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए । आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भए तापनि सिजी र एलजीका विद्युतीय सामग्री आपूर्ति शृंखलामा कुनै अवरुद्ध हुन नदिने चौधरी ग्रुपले जनाएको छ ।