३० रुपैयाँमा पनि बिकेन जुम्लाको प्याज

भण्डारणको समस्याले चार करोडबराबरको उत्पादन बिग्रिने चिन्तामा किसान

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

चन्दननाथ नगरपालिका– १, तलिचौर गाउँकी एकल महिला सावित्री कामीले लामो समयदेखि तरकारी खेती गर्दै आएकी छिन् । पाँचजनाको परिवार पाल्न उनले १० रोपनी जग्गा लिजमा लिएर सागपात, आलु, लसुन, प्याज, टमाटर, फर्सी, काउली, काँक्रालगायतका तरकारी उत्पादन गर्दै आएकी छिन् । यही पेसाबाट उनले गत वर्ष तीन लाख आम्दानी गरेको बताइन् । 

यो वर्ष उनले २० क्विन्टलभन्दा बढी प्याज उत्पादन गरेकी छिन् । तर, स्थानीय बजारमा ३० रुपैयाँ केजीमा पनि बिक्री हुन नसकेको गुनासो गरिन् । तर, गत वर्ष तरकारीबाट राम्रो आम्दानी गरेको भए पनि यो वर्ष मुस्किल भएको उनको भनाइ छ । ‘ठुलो मात्रामा उत्पादन भएको प्याज बिक्री नहुँदा कसरी घर–व्यवहार चलाउने र भाडामा लिएको जग्गाको भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भनिन्, ‘समयमा प्याज बिक्री नहुँदा दिन–प्रतिदिन कुहिँदै जान थालेको छ ।’ सोही गाउँकी सन्ध्या मल्लले पनि घर प्याजले भरिएका कारण स्टोर गर्न समस्या भएको बताइन् । उनले भनिन्, ‘मेरो घर प्याजले भरिएको छ । कहाँ राखौँ । कहाँ फालौँ । ठाउँ छैन । यो सबै समयमा बिक्री नहुँदा र बजारीकरणको समस्याले हो । प्याज आजभोलि प्रतिकेजी ३० रुपैयाँमा पनि बिक्री हुने गरेको छैन ।’

तलिचौरको एक सय ४५ घरधुरीमा अहिले प्रत्येक घरमा कम्तीमा १० क्विन्टल प्याज उत्पादन भएको छ । तर, मूल्य नपाउँदा कसैले पनि बिक्री गर्न नपाएको किसान मल्लले बताइन् । चन्दननाथ नगरपालिका– १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले तलिचौरका किसानको मुख्य आयस्रोत नै तरकारी खेती भएको बताए । नर्वे सरकार र युएनडिपीको आर्थिक सहयोगमा पेस नेपाल जुम्लाले ‘कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजना सञ्चालन गरेको छ । सोही परियोजनाअन्तर्गत तरकारी उत्पादन पकेट क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती गरिएको हो । कृषक पाठशाला, जैविक खेती, थोपा सिँचाइ, प्लास्टिक टनेल, गोठ सुधार, झोलमल र जैविक विषादी निर्माणलगायतका गतिविधिमा दाताले सहयोग गरेका छन् । 

तातोपानी गाउँपालिका– २, जर्मीगाउँका २८ जना र चन्दननाथ नगरपालिका– १, तलिचौरका २२ जना गरी ५० जना युवा किसानलाई व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनाउन ६४ लाख २५ हजार लगानी भएको थियो । सो गाउँमा अहिले चार करोडबराबरको प्याज उत्पादन भएको छ । जुम्लाकै स्थानीय बजारमा खपत हुँदैन । सुर्खेत, नेपालगन्जमा केही मात्रमा बिक्री भए पनि धेरै प्याज थन्किएर बसेको वडाध्यक्ष न्यौपानेले बताए । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्थानीय उत्पादनलाई बजारीकरणको समस्या नै देखिएको छ । उनले भने, ‘बेमौसममा यहाँको तरकारी नपुगेर बाहिरबाट तरकारी आयात हुन्छ । तर, मौसममा यहाँको तरकारी यहाँ खपत हुने गरेको छैन । ठुलो भोलुममा तरकारी उत्पादन गरी बाहिर बजारसम्म सञ्जाल जोड्न आवश्यक छ ।’  

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी भन्छन्– चन्दननाथमा हुँदै आएको स्थानीय उत्पादनलाई बजारीकरणको समस्या देखिएको छ । बेमौसममा यहाँको तरकारी नपुगेर बाहिरबाट तरकारी आयात गर्नुपर्ने अवस्था छ । मौसममा पनि यहाँको तरकारी यहीँ खपत हुन सकेको छैन । ठुलो भोलुममा तरकारी उत्पादन गरी बाहिर बजारमा जोड्न आवश्यक छ ।

See More On

सुझावित समाचार