भियतनामबाट पहिलो उच्चस्तरीय भ्रमण, उपराष्ट्रपति स्वन काठमाडौंमा

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

भियतनामकी उपराष्ट्रपति भिओ थी अन्ह स्वन औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा स्वन तीनदिने भ्रमणमा नेपाल आएकी हुन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । नेपालमा गणतन्त्र स्थापनापछि विदेशबाट उपराष्ट्रपतिस्तरको यो पहिलो भ्रमण हो ।

‘यो भ्रमण भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो, यसबाट दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ । नेपाल र भियतनामबिच १ जेठ ०३२ (१५ मे १९७५) गते कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, भियतामबाट उच्चस्तरीय भ्रमण भएको थिएन । प्रधानमन्त्री केपी ओलीले २६–३० वैशाख ०७६ मा भियतनाम भ्रमण गरेका थिए । नेपालबाट भियतनाममा भएको यो पछिल्लो उच्चस्तरीय भ्रमण हो ।

परराष्ट्रमन्त्री राणाले शिष्टाचार भेटमा उपराष्ट्रपति स्वनलाई दुवै देशबिचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बिचको सम्बन्ध विस्तारको एक सबल कडी रहेको बताएकी थिइन् । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको उल्लेख गर्दै भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माण गरिदिन अनुरोध गरेकी थिइन् । नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले पारस्परिक सहयोगमा जोड दिएकी थिइन् ।

परराष्ट्रमन्त्री राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानव अधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गरेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव र भियतनामकी समकक्षीबिच आइतबार होटेल याक एन्ड यतीमा औपचारिक वार्ता हुने कार्यक्रम छ । उपराष्ट्रपति यादवले समकक्षीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । प्रधानमन्त्री केपी ओली र भियतनामका उपराष्ट्रपतिबिच आइतबार नै भेटवार्ता हुनेछ । 

See More On

सुझावित समाचार