लिपुलेक नाका खोल्ने भारत र चीन समझदारीबारे समाजवादी मोर्चाले भन्यो–नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात

शनिबार, ७ भदौ, २०८२
डिजिटल संस्करण

समाजवादी मोर्चाले हालै भारत र चीनबिच पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुईपक्षीय व्यापार पुनर्स्थापना गर्ने गरी भएको समझदारीको विरोध गरेको छ । मोर्चाका चार नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले शुक्रबार सामूहिक विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।

‘ऐतिहासिक प्रमाण र द्विपक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ,’ चार शीर्ष नेताको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नेपालको तर्फबाट कूटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउने आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । भारत र चीनको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ ।’ 

मोर्चाले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने कदमको विरोध तथा असहमति प्रकट गर्दै मोर्चाले भनेको छ, ‘सरकारलाई कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आह्वान गर्दछ ।’

यसैगरी, नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सहमतिको शुक्रबार राष्ट्रिय सभामा पनि विरोध भएको छ । यसैबिच सम्झौताको विरोधमा सत्तारूढ कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सम्झौताको विरुद्ध माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ ।

See More On

सुझावित समाचार