टप एन्ड टी–२० शृंखला : हर्वट एकेडेमीविरुद्ध नन्दनको उत्कृष्ट बलिङ प्रदर्शन

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० सिरिजमा पहिलो जित निकालेको छ । पाल्मेस्टोन मैदानमा नेपालले मंगलबार घरेलु टोली हर्वट हुरिक्यानेस एकेडेमीलाई ६६ रनको फराकिलोअन्तरले हराएको हो । यसअघि नेपालले लगातार तीन खेल गुमाएको थियो । चौथो खेलमा नेपालले जित निकाल्दा युवा फास्टबलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले टी–२० सिरिज करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरी १७ रन खर्चेर पाँच विकेट हात पारे । सिरिजमा नेपालले पहिलोपटक सुरुवातमै ब्याटिङ अवसर पायो । नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ८० रन बनायो । प्रत्युत्तरमा नन्दनको घातक बलिङ सामना गर्न नसक्दा हर्वट एकेडेमी १६.१ ओभरमा एक सय १४ रनमा समेटिँदा नेपालले सिरिजमा पहिलो जित हात पारेको हो ।

नन्दनले लिए चौथो ओभरमै विकेट
कप्तान रोहित पौडेलले नन्दनलाई चौथो ओभरमा बलिङ अवसर दिएका थिए । उनले ३.४ ओभरमा प्रेसवाइडको विकेट लिँदै नेपाललाई सफलता दिलाए । त्यसको दश ओभरपछि उनले बलिङ गरेका थिए । उनले एकै ओभरमा दुई विकेट लिए । इनिङ्सको १३.२ ओभरमा नन्दनले होप र १३.३ ओभरमा डबाएरको विकेट लिए । उनी ह्याट्रिक लिन चुके ।

यसैगरी, इनिङ्सको १५.४ ओभरमा उनले म्याकमिलन र १५.६ ओभरमा बेलको विकेट लिँदै टी–२० करिअरमै पाँच विकेटको प्रदर्शन गर्न सफल भए । नन्दनले केवल तीन ओभर बलिङ गरेका थिए । नेपालको जितमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका कारण उनी खेलकै म्यान अफ दी म्याच भए । नेपालका लागि थप विकेट कप्तान रोहित, सन्दीप लामिछाने तथा कुशल भुर्तेलले समान एक विकेट लिए ।

पहिलो ब्याटिङ गरेको नेपालले होवर्टबाट ३१ अतिरिक्त रन पाएको थियो । नेपालको ब्याटिङमा ओपनर कुशल भुर्तेल र आसिफ सेखले ५.३ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । कुशलले २० बलमा चार चौकाको सहयोगमा २७ रन बनाए ।

आसिफले २८ बलमा दुई चौका प्रहार गरी २९ रन जोडे । तेस्रो क्रमका भीम सार्कीले १८ बलमा १८ रन जोडे । आरिफ सेखले २६ बलमा ३३ रन तथा लोकेशले ११ बलमा २५ रनको योगदान दिए ।

See More On

सुझावित समाचार