नेतृत्वको उर्दीका बाबजुद पूर्वराष्ट्रपति भण्डारीलाई एमाले मोरङको स्वागत

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण
नेतृत्वको उर्दीका बाबजुद पूर्वराष्ट्रपति भण्डारीलाई एमाले मोरङको स्वागत

पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको सालिकमा माल्यार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारी

एमालेको अप्रत्यक्ष उर्दीका बाबजुद पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत र भेटघाट गर्नेको विराटनगरमा भिड लागेको छ । दुईदिने विराटनगर बसाइमा उनले एमाले पूर्वउपाध्यक्षको रूपमा नेता कार्यकर्ताबाट उत्तिकै सम्मान पाइन् ।

भण्डारी सोमबार उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन विराटनगर आएकी थिइन् । उनलाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी सचिवकुमार भण्डारीसहितका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरे । भण्डारीले केही पुराना कार्यकर्ताहरूसँग भेटघाट गरेकी थिइन् । उनले पुराना वामपन्थी नेता लव प्रधानको घरमा गएर भलाकुसारी गरिन् । सोमबार अपराह्न सिटी प्यालेसमा उद्घोष दैनिकको कार्यक्रमा प्रमुख अतिथि बनेकी थिइन् । त्यसपछि रोडशेष चोकमा रहेको होटेल विगमा बसेकी उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भेटेका थिए । भण्डारीकै आग्रहमा मुख्यमन्त्री कार्कीले आधा घण्टा वन टु वन वार्ता गरेका थिए ।

मंगलबार बिहान भण्डारीले होटेलमै एमाले कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गरेकी थिइन् । त्यसपछि उनी नजिकै पाञ्चालीमा रहेको एमाले जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटभाट गर्न पुगेकी थिइन् । भण्डारी करिब १० वर्षपछि एमाले मोरङको कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरेकी थिइन् । उनले आफू एमाले कार्यकर्ता भएकाले मोरङ र कोशी प्रदेशको कार्यालय विराटनगरस्थित पाञ्चालीमा रहेको मदन स्मृति प्रतिष्ठानमा आउनु हक भएको बताइन् । उनको भेटघाटलाई बिथोल्न एमाले संस्थापन पक्षले निकै जोडबल गरेको थियो । बिहान ११ बजेतिर एमाले पार्टी कार्यालय पुगेकी भण्डारीले बरन्डामा रहेका स्वर्गीय नेताहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी थिइन् । त्यसपछि उनले सभाहलमा आफू एमालेको प्रतिबद्ध कार्यकर्ता भएकाले भूकम्पपछि भेटघाट गर्न आएको उनको भनाइ थियो ।

एमाले मोरङमा भण्डारी पक्षधर पदाधिकारीहरूकै बहुमत छ । भण्डारी पार्टी कार्यालयमा पुग्दा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने देखिएनन् । एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम भण्डारीले औपचारिक कार्यक्रम नभएकाले आफू मोरङ पार्टी कार्यालय नगएको बताए । तर, भण्डारीको कार्यक्रमलाई रोक्न प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले फेसबुकमै स्टाटस लेखेर औपचारिक कार्यक्रम नभएकाले पार्टी कार्यालय नजान उर्दी जारी गरेका थिए ।

एमाले मोरङका सचिव सोमराज थापाले पूर्वराष्ट्रपति भण्डारी पत्रिकाको वार्षिकोत्सवमा आए पनि समय बाँचेकाले भेटघाटसहित मंगलबार बिहान पार्टी कार्यालय पुगेको बताए । ‘उहाँको भेटघाटलाई कसैले रोक्न सक्दैन, उहाँकै इच्छाले पार्टी कार्यालय पुगेर १० वर्षपछि शुभेच्छुहरूसँग भेटघाट गर्नुभएको हो,’ उनले भने ।

भण्डारीले आफू राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन नपाएको भन्दै पदबाट निवृत्त भएपछि पार्टी सदस्यता नवीकरण गरेर सामाजिक र राजनीति गतिविधिमा सक्रिय भएको जानकारी गराइन् । भण्डारीले आफू एमालेको सदस्य भएको ४५ वर्ष भएको स्मरण गर्दै भण्डारीले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएकाले मोरङ गृहजिल्लाजस्तो लागेको बताइन् । उनले आफू एमालेको सामान्य सदस्य मात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् । 

सुझावित समाचार