बहादुर पक्षका तीन मन्त्रीको नियुक्ति २२ सांसदलाई मान्य नहुने पूर्वमन्त्री महर्जनको दाबी

बिहिबार, २९ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मीनकृष्ण महर्जनले बहादुरसिंह लामा पक्षका तीन मन्त्रीको हालैको नियुक्ति आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । निवर्तमान मुख्यमन्त्री लामाको सर्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पक्षका २२ जना सांसदहरूको भावनाविपरीत रहेको उनको दाबी छ ।

महर्जनले सामाजिक सञ्जालमार्फत कांग्रेसभित्र आन्तरिक संघर्ष जारी रहँदा निवर्तमान मुख्यमन्त्री लामाले अस्वाभाविक माग राखेको र सो माग आफ्नो पक्षका सांसदले मान्न नसक्ने स्पष्ट पारेका छन् । आफ्ना तीनजना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्तसहित बहादुर पक्षले बानियाँलाई विश्वासको मत दिने अडान राखेको थियो । विश्वासको मत दिने दिन मंगलबार अन्तिम समयमा सर्त स्वीकृत भएकाले आफूहरूले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएको बहादुर पक्षले दाबी गरेको थियो ।

तर, महर्जनले तीन  मन्त्रीको नियुक्ति २२ सांसदलाई मान्य नहुने बताएका छन् । ‘निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीनजना मन्त्री २२ सांसदलाई मान्य हुँदैन । यो विवाद सिर्जना गरेर वास्तविकता ढाकछोप गर्ने प्रयास मात्रै हो,’ उनले भनेका छन् । ३१ महिनाअघि दलको नेता चयनमा बानियाँले १६ मत पाउँदै बहादुरसिंह लामासँग तीन मतले पछि परे पनि भागबन्डामा सहभागी नभई उनको कार्यकालमा पूर्ण सहयोग गरेको महर्जनले दाबी गरेका छन् । यस्तै, उनले एक वर्षअघि आधा–आधा मुख्यमन्त्री हुने लिखित सहमति पालना नभएपछि शीर्ष नेताहरूको सल्लाहअनुसार नै बानियाँले अविश्वास प्रस्ताव दर्ता गरेका बताएका छन् । सो क्रममा पाँचजना मन्त्रीहरूले पनि पदबाट राजीनामा दिँदै बानियाँलाई समर्थन गरेको उनको भनाइ छ ।

संसदीय दलको कुनै पदमा नहुँदा पनि बानियाँले प्रतिपक्ष दलसँग सहकार्य गर्दै चालू आर्थिक वर्षको बजेट पास गराउन निर्णायक भूमिका खेलेको उनले दाबी गरेका छन् । तत्कालीन मुख्यमन्त्री लामा र अर्थमन्त्री कुन्दन काफ्लेबाट समस्याको समाधान नभएपछि बानियाँकै साहस र क्षमताबाट बजेट पास भएको उनले ठोकुवा गरेका छन् । ‘पदमा नहुँदा पनि बानियाँले प्रतिपक्षसँग सहकार्य गर्दै बजेट पास गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, जुन वेला तत्कालीन नेतृत्व निराश भइसकेको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सुझावित समाचार