नागरिक उन्मुक्ति विवाद : निर्वाचन आयोगले रञ्जितालाई नै कायम गर्‍यो अध्यक्ष

बिहिबार, ३० साउन, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यले राष्ट्रिय भेला बोलाएर अध्यक्ष परिवर्तन गरे पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको छ । राष्ट्रिय भेलाले गत १५ साउनमा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो । १४ साउनमा श्रेष्ठलाई अध्यक्षबाट हटाएको थियो ।

संरक्षक रेशम चौधरीसहितको उपस्थितिमा भएको भेलाको निर्णय अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो । श्रेष्ठले पनि आधिकारिक अध्यक्ष आफू नै भएको र राष्ट्रिय भेला नबोलाइएको भन्दै निवेदन दिएकी थिइन् । ‘राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठ नै अध्यक्ष रहने निर्णय भएको छ,’ आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले भनिन् । पार्टीको विधान र निर्णयहरू अध्ययन गर्दा लालवीरलाई अध्यक्षको मान्यता दिन मनासिब नदेखिएको आयोगले जनाएको छ । आयोगले रञ्जितालाई बोधार्थ दिएर लालवीरलाई पत्र पठाएको छ ।

आयोगले राष्ट्रिय भेलाको निर्णयलाई मान्यता नदिएपछि रेशम पक्ष आन्तरिक छलफलमा जुटेको छ । लालवीरले आफूहरू छलफलमा रहेको बताए । ‘हामी छलफलमै छौँ । अब कसरी जाने भन्ने निष्कर्षमा छिट्टै पुग्छौँ,’ उनले भने । श्रेष्ठले संवाद र छलफलबाट अगाडि बढ्ने बताइन् । ‘पार्टीमा सबैलाई मिलाएर लान्छु । अब एकढिक्का भएर पार्टी अगाडि बढ्छ,’ उनले भनिन्, ‘हामी उपनिर्र्वाचनको तयारीमा जुट्छौँ ।’

कार्यगत एकतामा अशोक–राजेन्द्र
अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकता गर्ने भएका छन् । दुई पार्टीबिच कार्यगत एकताको निर्णय भएको राईले बताए । ‘जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच कार्यगत एकताको निर्णय भएको छ । बिहीबार घोषणासभा राखिएको छ,’ उनले भने ।

राईका अनुसार बिहीबार नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा कार्यगत एकता घोषणा कार्यक्रम राखिएको छ । पार्टी एकताउन्मुख कार्यगत एकता घोषणा गर्न लागिएको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए । ‘निकट भविष्यमा पार्टी एकता गर्ने गरी कार्यगत एकताको निर्णय भएको हो,’ उनले भने ।

पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टीसहित मधेशकेन्द्रित ६ दलले संघीय लोकतान्त्रिक मोर्चामार्फत विभिन्न सहरमा जागरण सभा गरिरहेका छन् । ती कार्यक्रममा जसपा भने सहभागी छैन । जसपा नेपालमा दुवै नेता एउटै कमिटीमा थिए ।

पार्टी विभाजन हुँदा महतो लोसपामा आबद्ध भएका थिए । लोसपा छाडेर महतोले राष्ट्रिय मुक्ति पार्टी गठन गरेका छन् भने राईले जसपा नेपाल विभाजन गरेर जसपा गठन गरेका छन् । राई एमाले र महतो सद्भावना पृष्ठभूमिका हुन् ।

सुझावित समाचार