तेस्रो बोर्ड बैठकले पनि पारित गर्न सकेन विद्युत् प्राधिकरणको बजेट

सञ्चालक समिति बैठकमा बजेटको एजेन्डा भए पनि छलफल नै गरिएन

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सोमबारको बैठक पनि चालू आर्थिक वर्ष ०८२/८३ को बजेट पारित नगरी सकिएको छ । चालू आर्थिक वर्ष बजेट पारित गर्ने एजेन्डासहित सोमबार साँझ पाँच बजे रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बोर्ड बैठक आह्वान गरिएको थियो । तर, झन्डै दुई घण्टासम्म चलेको बैठकमा बजेटको विषयमा छलफल नै भएन ।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बजेटलाई प्राथमिकतामा राखेर बैठक आह्वान गरेका थिए । तर, त्यो एजेन्डाले प्राथमिकता नपाएको सञ्चालक समितिका एक सदस्यले बताए । 

उद्योगीको विद्युत् महसुल बक्यौता पुनरावलोकन सम्बन्धमा बनेको प्रशासनिक पुनरावलोकन समितिसँग पछिल्ला समसायिक विषयमा छलफल गरेर बैठक समापन गरेको एक सञ्चालकले बताए । ‘बजेटको एजेन्डासमेत गरी सोमबार साँझ सञ्चालक समितिको बैठक बस्यो । तर, झन्डै डेढ–दुई घण्टा चलेको बैठकमा बजेटको विषय प्रवेश भएन । प्रशासनिक पुनरावलोकन समितिकै विषयमा भएको छलफलले समय बित्यो,’ स्रोतले भन्यो, ‘तर, निर्णय केही पनि भएन ।’

नेपाल विद्युत् प्राधिकरण आर्थिक प्रशासन विनियमावली–२०६८’ ले नयाँ आर्थिक वर्षका लागि असार मसान्तभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । ‘वार्षिक कार्यक्रम र अनुमानित बजेटलाई सञ्चालक समितिले प्राधिकरणको आर्थिक र अन्य समसामयिक स्थितिसमेतको अध्ययन गरी यथावत् रूपमा वा थपघटसहित असार मसान्तभित्र स्वीकृत गर्नेछ,’ विनियमावलीमा भनिएको छ । तर, चालू आव सुरु भएको २६ दिन बितिसक्दा पनि प्राधिकरण सञ्चालक समितिले बजेट पारित गरेको छैन । 

विनियमावलीअनुसार असार १५ गतेभित्र बजेट स्वीकृतिका लागि सञ्चालक समितिमा पेस हुनुपर्छ । त्याभन्दा तीन दिन ढिला गरी असार १८ गते मात्रै सञ्चालक समितिमा बजेट पेस भएको देखिन्छ । बजेटमा तर्जुमा गर्न प्राधिकरणले सञ्चालक रोहित पौडेलको संयोजकत्वमा उपसमिति बनाएको थियो । उक्त उपसमितिले गत असार १८ गते नै सञ्चालक समितिमा बजेट पेस गरेको थियो । दुई खर्ब ४० अर्ब रुपैयाँको बजेट सञ्चालक समितिमा पेस भएको थियो । चालू आव सुरु भएपछि साउन ७, साउन २२ र साउन २६ गरेर तीन दिन बोर्ड बैठक बसे पनि बजेट पारित गरिएको छैन । समयमै बजेट ल्याउन नसकेपछि पेस्की बजेट ल्याएर प्राधिकरण सञ्चालन गरिएको छ ।

सुझावित समाचार