राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । सिँचाइका लागि अत्यावश्यक ठुला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरूले गुनासो गरे ।
बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे । उनले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुंगा र गिटी निकासी रोक्नुपर्नेमा जोड दिए ।
सांसद शर्माले कानुनी शासनको प्रत्याभूति गराउनुपर्ने र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको जानकारी गराउँदै उनीहरूको खोजी तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
यही साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा आएको बाढीका कारण २२ नेपाली सम्पर्कविहीन भएको र त्यसमा जाजरकोट, बर्दिया र धादिङका नागरिक परेको उनले उल्लेख गरे ।
सांसद शर्माले निर्वाचन आयोगले अगाडि सारेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ प्रति आपत्ति व्यक्त गर्दै राजनीतिक दलको मूल्यांकन नेपाली जनताले निर्वाचनमार्फत गर्ने तर्क गरे । निजामती सेवा विधेयकलाई शीघ्र अगाडि बढाउन माग गरे ।
सांसद मोहम्मद खालिदले भारतको उत्तराखण्डको बाढीमा परेर बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए ।