सिराहाको धनगढीमाई नगरपालिका– ११, आमचोकमा मंगलबार राति खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। लहान नगरपालिका– २४, गोविन्दपुर घर भई धनगढीमाईको आमचोकमा बस्दै आएका करिब ७५ वर्षीय वृद्ध फनिलाल यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आमचोकस्थित घरमा एक्लै सुतेका वृृद्धलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको सूचना पाएलगत्तै यादवलाई बिहान सवा ६ बजेतिर उद्धार गरी लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक यादवको शव पोस्टमार्टम परिवारको सल्लाहअनुसार लहानमै गर्ने वा बाहिर गर्ने भन्ने विषयमा सल्लाह भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार कहिले गोविन्दपुर र कहिले आमचोकस्थित घरमा एक्लै बस्दै आएका यादव मंगलबार राति पनि एक्लै सुतेका थिए । ‘बिहानसम्म नउठेपछि छिमेकीले उठाउन जाँदा गम्भीर घाइते अवस्थामा रहेको सूचना पायौँ,’ उनले भने, ‘प्रहरीले तत्काल उद्धार गरी लहान पुर्याएको भए पनि चिकित्सकले मृत घोषणा गरे ।’
लहान– २४ का पूर्ववडाध्यक्ष कमलदेव यादवका बाबु रहेका मृतक वृद्धमाथि भएको हतियार प्रहार र मृत्युको विषयमा अनुसन्धान थालिएको उनले बताए । उनका अनुसार घटनास्थलमा प्रहार भएको हतियारसमेत फेला नपरेकाले अपराधीको खोजीका लागि प्रहरीले मधेश प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको टोली मगाएको छ । घटनाको विरोध गर्दै स्थानीय बासिन्दाले बुधबार बिहान धनगढीस्थित पूर्व–पश्चिम सडकमा करिब दुई घण्टा टायर बालेर प्रदर्शन गरेका थिए ।