बागमतीमा अस्थिरता : कांग्रेसको घरझगडाले बदलिँदै सरकार

कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयनका लागि आज चुनाव हुँदै

बुधबार, १४ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश कांग्रेस संसदीय दलमा विश्वास गुमाएसँगै मुख्यमन्त्री रहेका बहादुरसिंह लामा तामाङको पद धरापमा परेको छ । कांग्रेस बागमती संसदीय दलको विधानमा दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ । दलको नयाँ नेता चयनका लागि बुधबार चुनाव हुनेछ । 

मंगलबार अविश्वास प्रस्तावको मतविभाजनमा कांग्रेसका ३७ मध्ये २२ सांसदले अविश्वासको पक्षमा मतदान गरेका छन् । ९ साउनमा कांग्रेस बागमतीका सभापति एवं सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ जनाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

विवाद टुंग्याउन कांग्रेसले केन्द्रीय सदस्य एवं संघीय सांसद राजन केसीलाई केन्द्रीय पर्यवेक्षकका रूपमा खटाएको थियो । निकास खोज्न उनले विभिन्न चरणमा दुवै पक्षसँग संवाद गरे पनि सहमति नजुटेपछि बुधबार मतदान प्रक्रियामा लगेका थिए । 

तामाङले आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । ‘गठबन्धन सरकारको मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्दैन,’ उनले भने, ‘गठबन्धन सरकारमा दलको नेताको हैसियतले मात्रै मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता छैन । त्यसैले राजीनामा दिन्नँ,’ उनले भने । तर, कांग्रेस बागमती संसदीय दलको विधान, २०७४ मा ‘पार्टीले सरकार गठन गरेमा दलका नेताले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ । 

तामाङले संसदीय दलको नयाँ नेताको चयन प्रक्रिया बाँकी नै रहेकाले त्यसमा आफ्नो पक्षले उम्मेदवारी दिने बताए । प्रदेश सांसदबाट जो–सुकै उम्मेदवार हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘त्यसमा पुन: म आफैँ वा अर्को कसैलाई प्रतिस्पर्धामा उतार्छु ।’ 

केन्द्रीय पर्यवेक्षक केसीले पार्टीको विधानअनुसार संसदीय दलको नेता नभएमा मुख्यमन्त्रीको वैधानिकता नरहने बताए । अविश्वासको प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री लामालाई नैतिक रूपमा मुख्यमन्त्रीमै रहने नैतिक र संवैधानिक आधार सकिएको उनले बताए । ‘कांग्रेसको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने स्पष्ट व्यवस्था छ । त्यसका आधारमा संसदीय दलको नेताविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि बहादुरसिंह लामा मुख्यमन्त्री रहन सक्नुहुन्न,’ केसीले भने ।
उनका अनुसार अहिलेको गठबन्धन पनि केन्द्रकै पहलमा बनेकाले नयाँ नेतृत्वबारे केन्द्र र अन्य दलसँगको सहकार्यमा तय गरिनेछ । 

सत्तासाझेदार एमालेका नेताहरूले अब कांग्रेसले लिने कदमका आधारमा आफूहरूले निर्णय गर्ने बताएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले व्यक्तिसँग नभई कांग्रेससँग गठबन्धन गरेकाले उसको निर्णय जसरी आउँछ, उसैगरी आफूहरू पनि अगाडि बढ्ने बताए । 

‘संसदीय दलको नेता परिवर्तन कांग्रेसको आन्तरिक विषय हो । त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन,’ थपलियाले भने, ‘उहाँहरू संसदीय दलको नेताको चयन प्रक्रियामा रहेकाले हामी अहिले नै यसै गर्छौँ भन्दैनौँ । हामीले गठबन्धन गरेको व्यक्तिसँग होइन कांग्रेससँग हो । त्यसकारण कांग्रेस जसरी आउँछ, हामी पनि त्यसैगरी जान्छौँ ।’ एमालेको संस्थागत निर्णय हुने थपलियाले बताए ।

नयाँ दलको नेताका लागि आज चुनाव
कांग्रेस बागमती संसदीय दलको नेताका लागि बुधबार चुनाव हुँदै छ । निर्वाचन समितिले दिउँसो २ देखि ३ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशित, साढे ८ देखि ९ बजेभित्र दाबी विरोध र १० देखि ११ बजेसम्ममा उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुपर्नेछ । साढे ११ बजे उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुनेछ भने मध्याह्न १२ बजेभित्र उम्मेदवारले फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । चुनावपछि बुधबार नै मतगणना गरी परिणाम घोषणा गरिने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए । बागमतीमा कांग्रेसका ३७ सांसद छन् । बहुमतका लागि १९ जनाको समर्थन चाहिन्छ । 
 

See More On

सुझावित समाचार