मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन्।  शुक्रबार पर्सास्थित ठोरी गाउँपालिका– ४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरूले हाल इतिहासकै एक गम्भीर जलसंकटको सामना गरिरहेकाे बताए। 

‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ। अब सहानुभूति हाेइन, साझा जिम्मेवारी आवश्यक छ,’ उनले भने, ‘खानेपानी संकट मधेश प्रदेशको मात्रै समस्या हाेइन, यो हाम्रो साझा चुनौती हो। संकट समाधानका लागि सबैले हातेमालो गर्ने वेला आएको छ।’

त्यसैगरी मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफूसहित सिंगो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए। 

‘विपतकाे यस घडीमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ। यहाँको खानेपानी समस्या चाँडै समाधान गरिने म आमनागरिकहरूमा विश्वास दिलाउन चाहन्छु,’ उनले भने। 

मन्त्री यादवले आफूले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको बताए। 

मन्त्री यादवले ठोरी गाउँपालिका– ४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको संकट अन्त्यका लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मूल  प्रतिबिम्ब भएको दाबी गरे। 

सुझावित समाचार