मुम्बईबाट ‘हराएका’ दुई किशोरी भक्तपुरमा मृत अवस्थामा फेला

भारतबाट कसरी भक्तपुरसम्म आए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण

भारतको मुम्बईबाट तीन सातादेखि हराएका दुई किशोरी भक्तपुरमा एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना बिहीबार बिहान मृत भेटिएका हुन् । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे सिन्टीटारस्थित एक घरमा डेरामा बस्दै आएका उनीहरू नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । घरको प्यासेजमा रहेको फलामको डन्डीमा झुन्डिएको अवस्थामा शव भेटिएको हो । डोरीको दुई भागमा दुईजना झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूको परिवार भारतको मुम्बईमा बस्दै आएका छन् । दिदीबहिनी दुई साताअघि भक्तपुर आएर डेरामा बस्दै आएका थिए । उनीहरू हराएको भन्दै परिवारले प्रहरीमा उजुरी दिनेदेखि सञ्चारमाध्यमबाट खोजीका लागि हारगुहार गर्दै आएका थिए । 

प्रहरीका अनुसार मृतक दिदीबहिनीले बुधबार राति करिब २ बजे टिकटक बनाएर त्यसमा नाइलनको डोरीसमेत देखाएका थिए । ‘मरेर गए पनि नतोडिने बन्धन माया हो’ बोलको गीतमा टिकटक बनाउँदै त्यसमा डोरीको फोटोसमेत देखाएका थिए । उनीहरूको मोबाइलमा पनि आफूहरू मर्न लागेको भनेर भिडियो बनाएको प्रहरीले जनाएको छ । मृतकका बुवा वासुदेव कँडेलले आफू आएपछि मात्र शव उठाउन आग्रह गरेका छन् । 

दुईमध्ये दिदी नेपालमै बसेर पढेकामा बहिनी भने मुम्बईमा आमाबुबासँगै बस्दै आएकी थिइन् । दिदी केही महिनाअघि मात्र मुम्बई गएको प्रहरीले जनाएको छ । मुम्बईबाट कम्प्युटर क्लास जान भनेर उनीहरू सम्पर्कविहीन भएका थिए । उनीहरू हराएपछि आमाबुवाले खोजीका लागि हारगुहार गर्दै आएको अवस्थामा भक्तपुरमा मृत भेटिएका हुन् । मुम्बईबाट कसरी भक्तपुरसम्म आए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, घटना आत्महत्या हो वा होइन भन्ने विषयमा पनि पोस्टमार्टम गरेपछि प्रस्ट हुने प्रहरीको भनाइ छ ।

See More On

सुझावित समाचार