सामाजिक सञ्जाललाई सन्तुलित र उत्तरदायी बनाउनुपर्छ : उपाध्यक्ष घिमिरे

मंगलबार, ७ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सामाजिक सञ्जाललाई सन्तुलित, उत्तरदायी, पारदर्शी र मानव अधिकारमैत्री नियमन प्रणालीको आवश्यकतामा जोड दिएकी छिन्।

महिला कानुन र विकास मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले विधेयकमार्फत सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि सन्तुलित र पारदर्शी बनाउँदै मानव अधिकारमैत्री नियमन गर्नुपर्नेमा जोड दिइन्।

‘सामाजिक सञ्जालको प्रयोग आज सूचना, सञ्चार, विचार र आन्दोलनको एक अभिन्न शक्ति बनेको छ,’ उनले भनिन्, ‘यसलाई पूर्ण रूपमा प्रतिबन्ध गर्नेभन्दा पनि सन्तुलित, उत्तरदायी, पारदर्शी र मानव अधिकारमैत्री नियमन प्रणाली विकास गर्नु हाम्रो साझा जिम्मेवारी हो।’

उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभाको तर्फबाट विधेयकका सबै पक्षहरूमा समितिमा गम्भीर छलफल गरेर जनमत, सरोकारवालाको सुझाव, विज्ञहरूको राय र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत समेटेर समावेशी, लोकतान्त्रिक र उत्तरदायी विधेयकको रूपमा संसदमा लैजान आग्रह गरिन्। विधेयकले उचित कानुनी प्रावधान समेटेको भन्दै उनले यसले समेटेका परिभाषा, व्याख्यालाई संशोधन र पुनर्विचार गरेर अघि बढ्न सकिने धारणा राखिन्।

विधेयकले ऐनको रूप धारण गरे सामाजिक सञ्जालको प्रयोगबाट हुने गरेका साइबर अपराधलाई नियन्त्रण गर्ने कानुनी प्रावधानको रिक्ततालाई सम्बोधन गर्न सक्ने घिमिरेको विश्वास छ।

सुझावित समाचार