सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न राष्ट्रिय सभाका सांसदकाे माग

मंगलबार, ३१ असार, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाका सांसदहरूले ‘मर्यादित महिनावारी’सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

सभाको आजको बैठकमा सदस्यहरूले सभाबाट पारित यस संकल्प प्रस्तावको कार्यान्वयनका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।बैठकको शून्य समयमा सांसदहरू गंगाकुमारी, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने र सुमित्रा बिसीले छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको भन्दै बालिका तथा महिलालाई सुरक्षित र मर्यादित महिनावारीका लागि आवश्यक कानुनी र संरचनागत सुधारका लागि आग्रह गरे । 

 महिनावारीको अवधिमा भोग्नुपर्ने बहिष्करण, हिंसा, विभेद तथा तीनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षा हुने गरेको छ । विभेदको अन्त्य, सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधारको आवश्यकता रहेको सो प्रस्तावमा उल्लेख छ । 

शून्य समयमा सांसद इन्दिरादेवी गौतमले गर्मीयाममा सर्पदंशका बिरामीलाई तुरुन्त औषधि र उपचार उपलब्ध गराउने व्यवस्था गर्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले  वर्षायाममा डेंगी, झाडापखाला र टाइफाइडजस्ता संक्रमण फैलन सक्नेतर्फ सचेत गराउँदै आपतकालीन सेवा बजेट व्यवस्थापनको माग गरिन्। 

सुझावित समाचार