उदयपुरमा गर्मीले एकको मृत्यु, सल्यानमा बाढी

खण्डित वर्षा : कतै गर्मी, कतै बाढी

बिहिबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशमा मनसुन प्रवेश गरेको दुई सातासम्म पनि देशभर फैलन नसक्दा खण्डित वर्षा भइरहेको छ । मौसमविद्का अनुसार एक साता वर्षा रोकिए पनि पश्चिमी र स्थानीय वायुका कारण मंगलबारबाट बादल लाग्नुका साथै वर्षा त भइरहेको छ । तर, कतै वर्षाले बाढी निम्त्याउँदा विशेष गरी तराई र चुरे क्षेत्रमा भने चर्काे गर्मी छ । मनसुनमा एकनास वर्षा हुने भए पनि अझै पश्चिमी वायु सक्रिय रहेकाले कतै वर्षा त कतै चर्काे घाम लाग्ने गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका– २, जोगीदहमा बुधबार हिँडिरहेका वेला गर्मीका कारण ढल्दा ५० वर्षीय बिर्खबहादुर सार्कीको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीले घरनजिकैको बाटोमा ढलिरहेको अवस्थामा सार्की मृत फेला परेकाले गर्मीका कारण हुन सक्ने अनुमान गरिएको बताए । उदयपुर प्रहरीका डिएसपी केदारमान दोङले शव पोस्टमार्टमपछि मात्र कारण खुल्ने बताए ।  कटारी नगरपालिका– ५ मा रहेको भोर्ले माविका सातजना विद्यार्थी मंगलबार गर्मीका कारण बेहोस भएका थिए ।

तर, मंगलबार रातिको वर्षाका कारण सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगर बजारमा बाढी पसेको छ । श्रीनगरमा रहेको  अँधेरी खोलाको बाढी पस्दा सागरराज पाण्डेको कान्तिपुर सामुदायिक अस्पताल, संगीता डाँगीको किराना पसल तथा डिल्लीबहादुर हमाल, सोवी चलाउने र रेशम श्रेष्ठको घरमा क्षति पुगेको छ । बाढीले शारदा नगरपालिका– १२ स्थित रेशमज्युलामा रहेको अटो भिलेजमा समेत क्षति गरेको छ ।

तापक्रम केही घट्यो, तर धमाधम विद्यालय बन्द
मंगलबारदेखि बादल लाग्नुका साथै केही ठाउँमा वर्षा पनि हुन थालेपछि तापक्रम केही घटेको छ । तर, विशेष गरी तराई क्षेत्रमा भने अझै पनि गर्मी रहेकाले पालिकाले विद्यालय बन्द गर्न थालेका छन् । मध्याह्नमा तराईका बजार सुनसान हुने गरेका छन् । अत्यधिक गर्मीका कारण धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, पर्साको पोखरिया गाउँपालिकाका विद्यालयको पठनपाठन बन्द गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा दुई दिन गर्मी बिदा दिएको छ ।

सोमबार तराईमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो । तर, बुधबार भने केही घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९.५ र न्यूनतम तापक्रम ३१.२ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, सिमरामा ३८.४, नेपालगन्जमा ३८.२, विराटनगरमा ३७.६, धनगढीमा ३७.२ र धरानमा ३६ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको अधिकतम तापक्रम ३१.२, दिपालयको ३३,  सुर्खेतको ३५.७, घोराहीको ३४.६ र पोखराको ३३ डिग्री सेल्सियस मापन भएको छ ।

बुधबारभन्दा आज धेरै ठाउँमा पानी पर्ने
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्वी नेपालमा मनसुनी वर्षा भइरहे पनि अन्यत्र भने पश्चिमी र स्थानीय वायुका कारण वर्षा भइरहेको हो । मंगलबारदेखि वर्षा सुरु भएकामा बुधबार कोशी, बागमतीसँगै अन्य प्रदेशका पहाडी भूभागमा पानी परेको छ । बुधबारभन्दा बिहीबार अझ धेरै ठाउँमा वर्षा हुने मौसमविद् लामिछानेले बताए । ‘मनसुन विस्तार हुने वातावरण पनि बनिरहेको छ । मनसुन नपुगेको ठाउँमा पनि बुधबारभन्दा बिहीबार अलि धेरै पानी पर्न सक्छ, तर झरी नै नपरे पनि यसले तापक्रम घटाउन मद्दत गर्नेछ,’ उनले भने । महाशाखाले बुलेटिन जारी गर्दै २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ ।
 

See More On

सुझावित समाचार