मन्टेसरी पढाउने शिक्षकलाई मासिक २० हजार

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

बाह्रबिसे नगरपालिकाले मन्टेसरी पढाउने शिक्षकलाई मासिक २० हजार पारिश्रमिक दिने निर्णय गरेको छ । शिक्षा शाखाबाट कार्यविधि बनाई कार्यपालिकाबाट विधिवत् निर्णय गरेर पारिश्रमिक वृद्धि गरिएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए  । सो नियम १ साउनबाट कार्यान्वयनमा आउनेछ । 

बाह्रबिसे नगरपालिकाभित्र १३ मन्टेसरीमा ३० महिला शिक्षक कार्यरत छन् । सरकारले दिँदै आएको मासिक १६ हजार पाँच सयबाट बढाएर मासिक २० हजार दिने नगरपालिकाको निर्णयले मन्टेसरी पढाउने महिला शिक्षक खुसी भएका छन् । ‘साना बालकलाई हेरचाह गर्न र पढाउन झन् बढी मिहिनेत गर्नुपर्ने भएकाले पारिश्रमिक वृद्धि गरिएको हो,’ बस्नेतले भने, ‘तलबको अलावा वार्षिक १० हजार पोसाक भत्ता पनि दिने निर्णय गरेका छौँ ।’

यद्यपि, निर्णय राम्रो हुँदाहुँदै पनि कतिपय महिला शिक्षकलाई पार्टी प्रवेश गराएर मात्रै  सेवामा निरन्तरता दिने तयारी मेयर बस्नेतले गरेको विपक्षी दलले आरोप लगाएका छन् । बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिरहेको छ । शिक्षामा बढी बजेट लगानी गर्ने योजना बनाएकाले कक्षा १० सम्म दिवाखाजाको व्यवस्था गर्ने तयारी गरेको बस्नेतले जनाए ।
 

सुझावित समाचार