कृषिमन्त्री अधिकारी र एफएओका प्रतिनिधिबिच भेट

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

 कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का प्रतिनिधि डयानियल गुस्टाफसनबिच आइतबार भेटवार्ता भएको छ । द्विपक्षीय भेटवार्तामा मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रममार्फत कृषकसम्म सुरक्षित, पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पु¥याउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए । साथै, उनले नेपालबाट उत्पादन हुने कृषि उत्पादनको विभिन्न देशमा निर्यातका लागि क्वारेन्टिन क्षेत्रलगायत विषादी व्यवस्थापनका क्षेत्रमा र कृषि वस्तुको भौगोलिक संकेतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षासमेत गरे । 

नेपाल भ्रमणमा रहेका गुस्टाफसनसँगको भेटमा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रूपमा एफएओले काम गरेको उल्लेख गर्दै सन् २०१५ पछि नेपालको विकास एजेन्डामा पोषण र खाद्य सुरक्षालाई मूल प्रवाहीकरणमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्वारा सञ्चालित परियोजनामार्फत खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण, आपत्कालीन अवस्थाको तयारी एवं ग्रामीण महिलाको आर्थिक उत्थान र सबलीकरणमा योगदान पु¥याउने अपेक्षा पनि व्यक्त गरे । 

भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपालजस्ता देशलाई समस्या पारेको उल्लेख गर्दै जलवायु अनुकूलनका कार्यक्रममार्फत यस्ता चुनौतीको सामना गर्न जरुरी रहेको बताए । 

सुझावित समाचार