६ महिनामा ‘मोस्ट वान्टेड’ सहित एक हजार शंकास्पद भारतीय पनि उडाइए

फरार व्यक्तिहरू एनओसीविनै उडाइएको पुष्टि

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसाको आवरणमा संगठित ‘धन्दा’ चलिरहेको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट नेपाली मात्रै होइन, भारतीय नागरिकको समेत तस्करी हुने गरेको पाइएको छ । पछिल्लो ६ महिनामा मात्रै ‘मोस्ट वान्टेड’सहित करिब एक हजार शंकास्पद भारतीयले तेस्रो मुलुक यात्रा गरेको देखिएको छ । उनीहरूलाई भारतीय दूतावासको नो अब्जेक्सन लेटर (एनओसी)विना नै उडाइएको अनुसन्धानबाट पुष्टि भइसकेको छ । 

भारतमा फरार रहेकादेखि शंकास्पद व्यक्तिहरूलाई सेटिङका आधारमा नेपालबाट तेस्रो देश जान दिइएको खुलेपछि यसमा भारतले पनि चासो राखेको छ । भारतीय नागरिकहरूलाई नेपालबाट तेस्रो देश जानका लागि काठमाडौंस्थित भारतीय दूतावासले जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य हुन्छ । तर, तत्कालीन अध्यागमन प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराईसहितको सेटिङमा एनओसीविना नै धेरै भारतीय नेपालको अध्यागमनबाट तेस्रो देश गएका थिए।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार पछिल्लो ६ महिनामा यसरी एनओसीविना नै करिब एक हजार भारतीय नेपाल हुँदै तेस्रो देश गएको र त्यसमा कतिपय भारतमा फरार व्यक्तिहरूसमेत भएको पुष्टि भइसकेको छ । यस विषयमा पनि आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ । सुन तस्करी मुद्दामा कालोसूचीमा रहेका दुई भारतीयलाई विदेश जान अनुमति दिइएको यसअघि नै पुष्टि भइसकेको छ ।

अध्यागमनमा संस्थागत रूपमा असुली बढेको सूचनाका आधारमा आयोगले गत ७ जेठमा सहसचिव भट्टराई र उनीनिकट व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो । हाल हाजिरी जमानीमा राखेर उनीहरूसँग आयोगले सोधपुछ गरिरहेको छ । 
अनुसन्धानको क्रममा भारतीय दूतावाससँग पनि समन्वय भइरहेको आयोग स्रोत बताउँछ । पछिल्लो समय दूतावासबाट जारी गरिएका एनओसीको विवरण र अध्यागमनबाट उडेका भारतीय नागरिकको विवरण आयोगले भिडाइरहेको छ । आफ्ना धेरै नागरिक एओसीविना नै उडेको खुलेपछि यसमा भारतीय अधिकारीले समेत गम्भीर चासो व्यक्त गरेका छन् । ‘यसमा सहसचिव एकजना मिलेर सम्भव देखिन्न,’ आयोग स्रोतले भन्यो, ‘माथिल्लो निकायदेखि अध्यागमनको ड्युटीमा खटिने कर्मचारीसम्म सबै मिलेर मात्र सम्भव छ, त्यसमा अनुसन्धान जारी छ ।’ 

अध्यागमनका एक अधिकारीका अनुसार भारतीय दूतावासबाट जारी भएका एनओसीको विवरण अध्यागमनमा दैनिक रूपमा पठाउने गरिएको छ । कसैले नक्कली एनओसी पेस गर्न सक्ने जोखिम भएकाले दूतावासले आधिकारिक लिस्ट पठाउने गरेको छ । त्यसका बाबजुद अध्यागमनका कर्मचारीले सेटिङका आधारमा लाखौँ पैसा लिएर केही भारतीयलाई तेस्रो देश जान दिने गरेको छानबिनबाट पुष्टि भइसकेको छ । 

खासगरी क्यानडा जानका लागि भारतीयहरूले नेपालको अध्यागमन प्रयोग गरेको देखिन्छ । जसमा कतिपय अतिवादी गतिविधिमा संलग्न रहेको भनेर भारतले निगरानीमा राखेका व्यक्तिहरूसमेत छन् । सुन तस्करी मुद्दामा कालोसूचीमा रहेका दुई भारतीयलाई विदेश जान अनुमति दिइएको यसअघि नै पुष्टि भइसकेको छ । त्यसमा अध्यागमन विभागले छानबिनसमेत गरेकोमा दोषी कर्मचारीलाई जोगाउने काम भएको थियो । 

पछिल्लो समय संगठित र संस्थागत रूपमा अध्यागमनबाट असुली बढेको सूचनाका आधारमा अख्तियारले ‘अन्डरकभर अप्रेसन’ चलाएर प्रमाणहरू संकलन गरी सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । विवादास्पद छविका भट्टराईलाई गत २३ असोजमा गृहमन्त्री रमेश लेखकले रोजेरै अध्यागमन प्रमुख बनाएर पठाएका थिए । त्यसयता अध्यागमनमा रेटसमेत बढाएर सेटिङमा मानव तस्करी धन्दा मौलाएको थियो । यसरी भिजिट भिसामा विदेश गएका कतिपय युवा–युवती बेचिएपछि हाल उद्धारका लागि हारगुहार गरिरहेका छन् । 

सेटिङ बढेकै वेला पछिल्लो समय अध्यागमनमा कर्मचारीको खटनपटन पूर्ण रूपमा गृहमन्त्री लेखकको सचिवालयबाट हुँदै आएको थियो । अध्यागमनका कर्मचारीको सरुवामा पनि ठुलो चलखेलको आरोप लाग्दै आएको छ । अख्तियारले छापा मार्ने तयारी गरेको सूचना पाएपछि हतारहतार सहसचिव भट्टराईको सरुवा गर्नुले पनि यसमा सिंगो गृह मन्त्रालयकै संरक्षणमा अध्यागमनबाट मानव तस्करी भइरहेको बुझ्न सकिने अख्तियारका अधिकारीहरू बताउँछन् ।

अख्तियारले अध्यागमनमा असुली धन्दा चलिरहेको विषयमा छानबिन गर्न पत्राचार गर्दा पनि गृह मन्त्रालयले चासो दिएको थिएन ।अख्तियारले सहसचिव भट्टराईको तीनवटा मोबाइल र एउटा ल्यापटप बरामद गरी उनको सञ्जाल खोतलिरहेको छ । उनी अध्यागमनमा गएयता दिनमै औसत ५० लाख रुपैयाँ घुस असुली हुने गरेको थियो । 

सुझावित समाचार