प्रदेश र स्थानीय तहलाई ४.१७ खर्ब अनुदान

प्रदेशमा कर्णालीलाई सबैभन्दा धेरै १६ अर्ब चार करोड सात लाख, महानगरपालिकामा पोखरालाई तीन अर्ब ६४ करोड ५६ लाख

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८२/८३ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई करिब चार खर्ब १७ अर्बबराबरको अनुदान हस्तान्तरण हुने भएको छ । यो अनुदान संघीय सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत प्रदान गर्नेछ ।

अर्थ मन्त्रालयबाट सार्वजनिक अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअनुसार संघबाट प्रदेश सरकारलाई ९७ अर्ब ५६ करोड चार लाख अनुदान उपलब्ध गराइनेछ । यस्तै, स्थानीय तहले तीन खर्ब २० अर्ब २६ करोड ४६ लाख पाउनेछन् । जसमध्ये, महानगरपालिकाहरूले ११ अर्ब ७४ करोड ६५ लाख र उपमहानगरपालिकाहरूले ११ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ पाउनेछन् ।

महानगरमा सबैभन्दा धेरै तीन अर्ब ६४ करोड ५६ लाख पोखराले पाउने भएको छ । त्यस्तै, काठमाडौंले दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँ पाउनेछ । यसमा ७० करोड ९३ लाख रुपैयाँ समानीकरण र एक अर्ब ६३ करोड २४ लाख रुपैयाँ ससर्त अनुदान उल्लेख छन् । काठमाडौंलाई विशेष र समपूरक अनुदान छुट्याइएको छैन ।

ललितपुर महानगरपालिकाले एक अर्ब २० करोड ८५ लाख रुपैयाँ पाउनेछ । यसमा ३९ करोड ७२ लाख रुपैयाँ समानीकरण अनुदान, ८० करोड १६ लाख रुपैयाँ ससर्त अनुदान र ९७ लाख रुपैयाँ समपूरक अनुदान छन् । ललितपुरलाई विशेष अनुदान छैन ।

भरतपुर महानगरपालिकाले दुई अर्ब ३६ लाख रुपैयाँ पाउनेछ । वीरगन्जले एक अर्ब ३७ करोड तीन लाख रुपैयाँ र विराटनगरले एक अर्ब १७ करोड ६८ लाख रुपैयाँ पाउनेछन् ।

नगरपालिकाहरूले एक खर्ब ४३ अर्ब १० करोड ७३ लाख रुपैयाँ अनुदान पाउनेछन् भने गाउँपालिकाहरूले एक खर्ब ५४ अर्ब २ करोड ७० लाख रुपैयाँ पाउनेछन् । प्रदेश र स्थानीय तहमा जम्मा चार खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँको हस्तान्तरण हुने भएको हो ।

समानीकरणतर्फ एक खर्ब ४९ अर्ब 
संघले आगामी आवमा प्रदेश र स्थानीय तहलाई करिब एक खर्ब ४९ अर्ब ६२ करोड वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ । वित्तीय हस्तान्तरणको विवरणअनुसार प्रदेशले १५ अर्ब १६ करोड ५० लाख न्यूनतम अनुदान, ४३ अर्ब ६ करोड ८६ लाख सूत्रमा आधारित अनुदान र दुई अर्ब ४२ करोड ६४ लाख कार्यसम्पादनमा आधारित अनुदान प्राप्त गर्नेछन् । यो मिलेर प्रदेशका लागि ६० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

स्थानीय तहतर्फ महानगरपालिकाहरूले दुई अर्ब ७२ करोड ९४ लाख रुपैयाँ पाउनेछन् । यसमध्ये ५१ करोड न्यूनतम अनुदान, दुई अर्ब १८ करोड ७३ लाख सूत्रमा आधारित अनुदान, र तीन करोड २१ लाख कार्यसम्पादनमा आधारित अनुदान रहेका छन् । उपमहानगरपालिकाहरूले तीन अर्ब नौ करोड ४३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

नगरपालिकाहरूका लागि यो अनुदान ३८ अर्ब ३० करोड ८८ लाख रुपैयाँ हुनेछ । यसमा १२ अर्ब २३ करोड न्यूनतम अनुदान, २४ अर्ब ७७ करोड २० लाख सूत्रमा आधारित अनुदान र एक अर्ब ३० करोड ६८ लाख कार्यसम्पादनमा आधारित अनुदान समावेश छ । गाउँपालिकाले ४४ अर्ब ८३ करोड ५५ लाख रुपैयाँ पाउनेछन् । यसमा न्यूनतम अनुदान १७ अर्ब २३ करोड, सूत्रमा आधारित अनुदान २५ अर्ब ४३ करोड ४९ लाख र कार्यसम्पादनमा आधारित अनुदान दुई अर्ब १७ करोड ६ लाख रहेका छन् । संघबाट प्रदेश र स्थानीय तहलाई कुल ४५ अर्ब ९९ करोड ५० लाख न्यूनतम अनुदान, ९७ अर्ब ६४ करोड ७० लाख सूत्रमा आधारित अनुदान र पाँच अर्ब ९८ करोड ६० लाख कार्यसम्पादनमा आधारित समानीकरण अनुदान हस्तान्तरण हुने भएको छ । 

ससर्ततर्फ दुई खर्ब ४१ अर्ब अनुदान
संघले आगामी आवमा प्रदेश र स्थानीय तहका लागि दुई खर्ब ४१ अर्ब ८० करोड रुपैयाँबराबरको ससर्त अनुदान हस्तान्तरण गर्ने भएको छ । प्रदेशले यस्तो अनुदान १५ अर्ब ४७ करोड ५८ लाख चालू खर्चका लागि र १४ अर्ब ८७ करोड ८१ लाख पुँजीगत खर्चका लागि अनुदान पाउनेछन् । प्रदेशलाई कुल ३० अर्ब ३५ करोड ३९ लाख ससर्त अनुदान प्राप्त हुनेछ ।

स्थानीय तहमा महानगरपालिकाहरूले आठ अर्ब ८८ करोड ७२ लाख रुपैयाँ ससर्त अनुदान पाउनेछन् । यसमध्ये ६ अर्ब ९१ करोड ८३ लाख चालू खर्चका लागि र एक अर्ब ९६ करोड ८९ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ । उपमहानगरपालिकाहरूले सात अर्ब ८९ करोड २४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नगरपालिकाले चालू खर्चका लागि ८० अर्ब १२ करोड ३२ लाख र पुँजीगत खर्चका लागि १७ अर्ब पाँच करोड ७५ लाख गरी कुल ९७ अर्ब १८ करोड सात लाख रुपैयाँ पाउनेछन् । गाउँपालिकाले पनि ८७ अर्ब १९ करोड ३० लाख चालू खर्च र १० अर्ब ३० करोड २७ लाख पुँजीगत खर्च गरी कुल ९७ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ ससर्त अनुदान प्राप्त गर्नेछन् । कुल दुई खर्ब ४१ अर्ब ८० करोड ९९ लाख रुपैयाँ ससर्त अनुदान हस्तान्तरण गरिने भएको छ ।

समपूरकतर्फ १३ अर्ब ३४ करोड हस्तान्तरण
संघीय सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा प्रदेश र स्थानीय तहलाई १३ अर्ब ३४ करोड ५२ लाख रुपैयाँबराबरको समपूरक अनुदान हस्तान्तरण गर्ने भएको छ । आगामी आवमा प्रदेशलाई तीन अर्ब २८ करोड ६ लाख रुपैयाँको समपूरक अनुदान प्राप्त हुनेछ । स्थानीय तहमा महानगरपालिकाले चार करोड ६८ लाख रुपैयाँ पाउनेछन् । उपमहानगरपालिकाले १९ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नगरपालिकाहरूले तीन अर्ब ८४ करोड नौ लाख रुपैयाँको समपूरक अनुदान पाउनेछन् । गाउँपालिकाहरूलाई पाँच अर्ब ९७ करोड ८४ लाख रुपैयाँको समपूरक अनुदान प्राप्त हुनेछ । 

सबैभन्दा बढी अनुदान कर्णाली प्रदेशलाई
सबैभन्दा बढी  कर्णाली प्रदेशले १६ अर्ब चार करोड सात लाख रुपैयाँ पाउने भएको छ । कर्णालीले १० अर्ब ५६ करोड समानीकरण अनुदान, चार अर्ब ४४ करोड ६० लाख ससर्त अनुदान, ४९ करोड ४६ लाख विशेष अनुदान र ५३ करोड ९७ लाख समपूरक अनुदान प्राप्त गर्नेछ ।  त्यसैगरी, कोशी प्रदेशले आठ अर्ब ९८ करोड ३४ लाख समानीकरण अनुदान, चार अर्ब ५७ करोड १० लाख ससर्त अनुदान, ५५ करोड ७२ लाख विशेष र ३९ करोड १७ लाख समपूरक अनुदान पाउने भएको छ । संघबाट यो प्रदेशमा जम्मा १४ अर्ब ५० करोड ३३ लाख हस्तान्तरण हुने भएको छ ।

बागमती प्रदेशले आठ अर्ब २८ करोड ५४ लाख रुपैयाँ समानीकरण अनुदान, चार अर्ब ८९ करोड ४२ लाख रुपैयाँ ससर्त अनुदान, ४० करोड ५० लाख रुपैयाँ विशेष अनुदान र २३ करोड ४७ लाख रुपैयाँ समपूरक अनुदान प्राप्त गरी जम्मा १३ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ पाउनेछ ।

मधेश प्रदेशले १२ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ पाउनेछ । यसमा सात अर्ब ७२ करोड १९ लाख रुपैयाँ समानीकरण, चार अर्ब २६ करोड १८ लाख रुपैयाँ ससर्त, ३९ करोड ४५ लाख रुपैयाँ विशेष र ३५ करोड ८२ लाख रुपैयाँ समपूरक अनुदान समावेश छन् । गण्डकी प्रदेशले १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसमा सात अर्ब ७३ करोड ८९ लाख रुपैयाँ समानीकरण, तीन अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ससर्त, ४९ करोड ८६ लाख रुपैयाँ विशेष र ६३ करोड ९७ लाख रुपैयाँ समपूरक अनुदान उल्लेख छ । लुम्बिनी प्रदेशले आठ अर्ब ४४ करोड ४४ लाख रुपैयाँ समानीकरण अनुदान, चार अर्ब ६६ करोड १५ लाख रुपैयाँ ससर्त अनुदान, ४० करोड रुपैयाँ विशेष अनुदान र ५१ करोड ४० लाख रुपैयाँ समपूरक अनुदान प्राप्त गरी जम्मा १४ अर्ब एक करोड ९९ लाख रुपैयाँ पाउनेछ । सुदूरपश्चिमले आठ अर्ब ९२ करोड ५६ लाख समानीकरण अनुदान, चार अर्ब १६ करोड ३० लाख ससर्त अनुदान, ५१ करोड ६० लाख विशेष अनुदान र ६० करोड २६ लाख रुपैयाँ समपूरक अनुदानसहित जम्मा १४ अर्ब २० करोड ७२ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

See More On

सुझावित समाचार