दलित परिवारले प्रयोग गर्दै आएको बाटो छेकेर मन्दिरको पर्खाल

मंगलबार, २० जेठ, २०८२
डिजिटल संस्करण

मन्दिरदेखि पश्चिमतर्फका १० घर दलित बस्तीसँगै जोडिएको पूर्वपट्टिको बाटोमा ऐलानी भनेर बलजफ्ती पर्खाल उठाइयो

सिराहाको विष्णुपुर गाउँपालिका– ४ थलहा कटाहामा दलित परिवारले प्रयोग गरिरहेको बाटो नै छेकेर दुर्गा मन्दिरका लागि पर्खाल निर्माण गरिएकोे छ । आधा दर्जनभन्दा बढी (चमार) दलित परिवारको घरसम्म आउन मन्दिर क्षेत्रको जग्गा हुँदै बाटो रहेकोमा मन्दिरमा पर्खाल उठाएर छेक्न लागिएको हो । 

स्थानीय रामएकबाल महरा भन्छन्–

मन्दिरपछाडि रहेको मेरो घरसम्म पुग्ने बाटो नम्बरी जग्गामा छ । मन्दिरलाई घेरेर पर्खाल लगाएपछि मसहित दक्षिणपट्टिका ६ घर छिमेकीलाई पनि समस्या भएको छ । उत्तरतर्फका चार घरलाई पनि उही समस्या परेको छ । पर्खाल नहुँदासम्म मन्दिरको चौर हुँदै सिधै मूल सडकसम्म निस्किन सकिन्थ्यो । अहिले बन्द भएको छ ।

स्थानीय रामएकबाल महराले मन्दिरबाट आफूहरूको घरसम्म आउने सडक नम्बरी जग्गा रहे पनि पर्खाल उठाउँदा बाटो बन्द भएको गुनासो गरे । ‘मन्दिरपछाडि रहेको मेरो घरसम्म पुग्ने बाटो नम्बरी जग्गामा छ । मन्दिरलाई घेरेर पर्खाल लगाएपछि मसहित दक्षिणपट्टिका ६ घर छिमेकीलाई पनि समस्या भएको छ । पर्खाल नहुँदासम्म मन्दिरको चौर हुँदै सिधै मूल सडकसम्म निस्किन सकिन्थ्यो । अहिले बन्द भएको छ,’ उनले भने । 

उक्त पर्खाल मधेश सरकारको पर्यटन विकास कार्यालयले ५० लाख ६० हजार लागतमा १३ जेठबाट निर्माण गरिरहेको छ । अहिलेसम्म मन्दिरको उत्तरतर्फबाट मोडिएर करिब ५० मिटर दक्षिण आएपछि घर पुग्न सकिनेमा अब अवरोध भएको स्थानीय सुनिता महराले बताइन् । ‘मन्दिरको पश्चिमपट्टि घर रहेका छिमकीले बाटो मेरो नम्बरी जग्गामा हो भनिरहेका छन्, हामीलाई घरबाट मूल सडकसम्म निस्किन पनि गाह्रो भइरहेको छ,’ उनले भनिन् । 

अर्की पीडित सजनदेवी महराले पनि मन्दिरदेखि पश्चिमतर्फ रहेका १० घर दलित बस्तीसँगै जोडिएका पूर्वपट्टिको बाटो पनि ऐलानी भनेर बलजफ्ती पर्खाल बनाइएको बताइन् । ‘उत्तरतर्फ घर रहेका छिमेकीले मेरो नम्बरी जग्गा हो भनिरहेका छन्, उनले त्यो जग्गा छेके भने हाम्रो आवतजावत नै बन्द हुन्छ,’ उनले भनिन् । 

मन्दिरको दक्षिण–पश्चिम कुनामा रहेका चैता महरा, रामशंकर महरा, जैनन महरा, शिबु महरा, शिवशंकर महरा, सञ्जय महरा र रामखेलावन महराको घरअगाडिसम्म सार्वजनिक जग्गा बाटोका रूपमा उपयोग भइरहेको थियो । कम्पाउन्ड वाल र गेट निर्माणका लागि वीरेन्द्रकुमार यादवको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । तर, निर्माणको काम भने ठेकेदारमार्फत भइरहेको स्थानीयले बताए ।

मर्का परेको भए पुनर्विचार हुन्छ : वडाध्यक्ष
विष्णुपुर गाउँपालिका– ४ थलहा कटहाका वडाध्यक्ष रामबाबु यादवले बाटो कायम राखेरै पर्खाल निर्माण भइरहेको, तर चित्त नबुझेको भए पुनर्विचार गर्न सकिने बताए । ‘मन्दिरको पर्खाल निर्माण गर्नुअघि मन्दिरसँगै उहाँहरूको सहमति लिइएको हो,’ उनले दाबी गरे, ‘तर, मन्दिरको भोगचलनमा रहेको बाटोको जग्गाधनी दर्ता प्रमाण पुर्जा छ भने अहिले पनि मन्दिरको पर्खाल पूर्वतिर सार्न सक्छौँ । हिँड्ने बाटो अवरोध गरिएको हो भने सच्याउँछौँ ।’ मन्दिरको निर्माणाधीन पर्खालभन्दा ६ फिट पश्चिमपट्टि बाटोको केन्द्र मानेर सिमेन्टको किल्ला ठोकिएको र सिमेन्टको किल्लाभन्दा पश्चिमतर्फ ६ फिट जोडेर १२ फिटको बाटो छाडिएको उनले दाबी गरे ।
 

See More On

सुझावित समाचार