सडक निर्माणको माग गर्दै राजविराजमा सिटीचालकको हडताल

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

सडक निर्माणको माग गर्दै राजविराजमा सिटी रिक्साचालकहरूले चक्काजाम गरेका छन्। राजविराजस्थित रुपनी मोडमा सिटी तेर्स्याएर उनीहरूले बुधबार आवतजावत अवरुद्ध गरेका छन्।‌

सडकका कारण दैनिक सवारी दुर्घटना तथा सञ्चालनमा समस्या भइरहेको भन्दै उनीहरूले सडक निर्माणको मागसहित हडताल गरेका हुन्। सडकमा खाल्डाखुल्डी र निर्माणको नाममा वर्षौँदेखि अलपत्र अवस्थाले उनीहरूको दैनिकी कष्टकर बनाएको छ। उनीहरूले स्थानीय ठेकेदार कम्पनीले काम नगरेको भन्दै तत्काल कारबाहीको मागसमेत गरेका छन्।

कार्यवाहक नगरप्रमुख इसरत परविनले पनि ठेकेदार कम्पनीको बेवास्ताप्रति असन्तुष्टि जनाएकी छिन्। उनले निर्माण कम्पनीले सम्झौताअनुसारको काम नगरेको जनाउँदै आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। नगरवासीहरू पनि लामो समयदेखि सडकको अस्तव्यस्त अवस्थाबाट हैरान छन्। स्थानीयहरूका अनुसार यदि चाँडै सडक निर्माण सुरु नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी सिटी रिक्साचालकहरूले दिएका छन्।

सुझावित समाचार