एन्फा साधारणसभा : अदालतको आदेशविपरीत पूर्वअध्यक्ष थापालाई सहभागी गराइएन

शनिबार, २७ बैशाख, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार भएको नियमित साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि स्थिति निकै विवादास्पद बन्यो । साधारणसभामा उपस्थित हुन पाउने उच्च अदालत पाटनको आदेशसहित काभ्रेको धुलिखेल नगरपालिकाको हलभित्र प्रवेश गर्ने योजनामा रहेका थापालाई एन्फाले कार्ड नै उपलब्ध गराएन । हलभित्र प्रवेश गर्न एन्फाले आफूले जारी गरेको कार्ड अनिवार्य गरेको थियो । 

दश वर्ष (१६ अप्रिल २०१५ देखि १५ अप्रिल २०२५) को फिफा प्रतिबन्ध फुकुवापछि थापा सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को प्रतिनिधि बन्दै साधारणसभामा पुगेका थिए । साथमा काठमाडौं जिल्ला फुटबल संघका सदस्य गौरव थापा पनि थिए । गौरवलाई पनि एन्फाले कार्ड नै उपलब्ध गराएन । कार्ड हातमा नपरेपछि थापाले आफूलाई अदालतले साधारणसभामा उपस्थिति हुन गरेको आदेश देखाए । गेटमा थापालाई रोक्न डिएसपीको नेतृत्वमा एक सय प्रहरी परिचालन गरिएको थियो । 

थापाले आफूसँग भएको अदालतको आदेश देखाएपछि गेटमा रहेको प्रहरी टोली हच्किएको थियो । यद्यपि, एन्फाले काभ्रे जिल्लासँग समन्वय गरेर कडा सुरक्षा व्यवस्था गरेपछि थापाले एक घण्टाभन्दा बढी प्रयास गरेँ पनि सभाहलमा प्रवेश गर्न पाएनन् । थापालाई एन्फा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्यद्वय रवीन्द्र चन्द र रूपेश अधिकारीले साथ दिएका थिए । उनीहरूले अदालतको आदेश एन्फा नेतृत्वले मान्नुपर्ने र आफूहरू त्यसको भागीदार नबन्ने दाबी गरिरहेका थिए । 

पूर्वअध्यक्ष थापाले भने, ‘कि त मलाई समाहलमा प्रवेश दिनुपर्यो, कि त अदालतको आदेश मान्दिन भन्नुपर्यो,’ भन्दै नारा लगाएका थिए । उनले अध्यक्ष नेम्वाङविरुद्ध नाराबाजी पनि गरेका थिए । थापाले अदालतको आदेश अवज्ञा भएको भन्दै पुनः उजुरी गर्ने तयारी गरेका छन् । यता, अध्यक्ष नेम्वाङले नयाँ पत्रिकासँग बोल्दै थापालाई फिफाले गरेको फुकुवाको आदेश एन्फालाई हात नपरेका कारण सभाहलमा प्रवेश गर्न रोकेको बताए । 

मुख्य अतिथि लुसुक्क सभाहलमा 
विवादका कारण उद्घाटन समारोहका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव सभाहलमा लुसुक्क प्रवेश गर्नुपर्ने अवस्था आयो । थापाको समूहले घिसिङलाई मुख्यद्वारमा रोक्ने अवस्था देखेपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले घिसिङलाई सभाहलको पछाडिको गेटबाट लुकाएर कार्यक्रमस्थल पुर्याएका थिए । कार्यक्रम उद्घाटन गर्न पानसमा बत्ती बाल्न लागेका सदस्यसचिव घिसिङलाई एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले रोकेका थिए । अध्यक्ष नेम्वाङले वरिष्ठ उपाध्यक्ष खड्कालाई हटाएपछि राखेप अध्यक्ष घिसिङले पानसमा बत्ती बालेर साधारणसभा उद्घाटन गरे । तर, खड्का रोकिएनन् । यता, उद्घाटन सत्रपछि सभाहलको पछाडिबाट पार्किङ हुँदै काठमाडौं फर्किँदै गरेका घिसिङलाई पूर्वअध्यक्ष थापाले बाटोमै रोकेरै ज्ञापनपत्र बुझाएका थिए ।

यसअघि एन्फाले साधारणसभामा आफूलाई रोक्ने दाउ पाएपछि पूर्वअध्यक्ष थापाले साधारणसभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायरा गरेका थिए । २१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले थापालाई नरोक्न आदेश थिएको थियो । तर, आदेश रोक्न एन्फाले भ्याकेटको निवेदन दिएको थियो । तर, उच्च अदालतले एन्फालाई भ्याकेट दिन अस्वीकार गरेपछि थापा आदेशसहित धुलिखेल पुगेका थिए । 

एन्फाको वार्षिक बजेट डेढ अर्बमाथि
एन्फाको साधारणसभाले सन् २०२५ का‌ लागि एक अर्ब ५६ करोड ३२ लाख नौ हजार चार सय ५० रुपैयाँ बजेट अनुमोदन गरेको छ । यो गत वर्षको भन्दा बढी हो । अघिल्लो वर्ष फिफाबाट प्राप्त अनुदानमध्ये पूर्वाधारतर्फको ४७ करोड ७६ लाख ७१ हजार पाँच सय ४२ रुपैयाँ बजेट यसपटकलाई सारिएको छ । गत वर्षको फिफा र एएफसीको भौतिक पूर्वाधारको खर्च गर्न नसकेको बजेटलाई यो वर्ष निरन्तरता दिएको र सो बजेटसमेत जोडिँदा बजेटको आकार ठुलो भएको हो । 

See More On

सुझावित समाचार