कुलमानका पालामा आर्जित नाफा स्वीकार तर, सवा पाँच अर्ब सञ्चित नोक्सानी रहेको दाबी

ऊर्जामन्त्री दीपक खड्काको दबाबमा विद्युत् प्राधिकरणको श्वेतपत्र जारी

शनिबार, २० बैशाख, २०८२
डिजिटल संस्करण

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणको सबलीकरणमा होइन, कुलमानलाई गलत देखाउन सक्रिय 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको कार्यकालमा भएको नाफालाई स्वीकार गर्दै शुक्रबार श्वेतपत्र जारी गरेका छन् । 
उनले शुक्रबार जारी गरेको श्वेतपत्रमा ०८१ असारसम्म प्राधिकरण ४६ अर्ब ४८ करोड रुपैयाँले सञ्चित नाफामा भएको उल्लेख छ । यसैगरी, चालू आवको फागुन मसान्तसम्म प्राधिकरणले थप नौ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको उनले श्वेतपत्रमा उल्लेख गरेका छन् । तर, कुलमानलाई गलत देखाउनुपर्ने बाध्यताका कारण प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानी पुगेको अपत्यारिलो तथ्यांक पनि सार्वजनिक गरेका छन् ।

कुलमान पहिलोपटक भदौ ०७३ मा र दोस्रोपटक साउन ०७८ मा प्राधिकरणका कार्यकारी निर्देशक बनेका थिए । त्यसअघि असार ०७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँले सञ्चित नोक्सानीमा थियो, जुन साउन ०६८–असार ०७३ सम्मको नोक्सानी हो । असार ०८१ सम्म आउँदा प्राधिकरणले त्यो नोक्सानी घटाएर ४६ अर्ब ४७ करोड रुपैयाँमा सञ्चित नाफा कमाएको छ, जुन हितेन्द्रले जारी गरेको श्वेतपत्रमा पनि उल्लेख छ । 

प्राधिकरणले हालसम्म ४६ अर्ब ४८ करोड सञ्चित नाफा रहेको श्वेतपत्र जारी गर्नुअघि ऊर्जामन्त्री दीपक खड्काले २२ फागुनमा संसद्को रोस्टममा उभिएर प्राधिकरणले कागजी नाफा देखाएको भन्दै कुलमानविरुद्ध अभिव्यक्ति दिएका थिए । यद्यपि, उनकै योजनामा आएको श्वेतपत्रमा कुलमानका पालामा भएको नाफालाई स्वीकार गरिएको छ । 

तर, कुलमानलाई गलत देखाउन योजनाअनुरूप आएको श्वेतपत्रमा ह्रासकट्टीको नाममा साढे पाँच अर्ब सञ्चित नोक्सानी भएको देखाइएको छ । फागुन मसान्तसम्म नाफासमेत समावेश गर्दा प्राधिकरणको सञ्चित नाफा ५५ अर्ब ९५ करोड रुपैयाँ हुन आउने देखिन्छ । त्योबराबरको नाफा कसरी पाँच अर्ब २६ करोड रुपैयाँले नोक्सानीमा आयो भनेर बलियो आधार भने देखाइएको छैन । भौतिक सम्पत्तिको निश्चित समयको अवधि हुन्छ । प्राधिकरणले आफ्नो जलविद्युत् तथा प्रसारणलाइनलगायतका परियोजनाको आयु २५ देखि ५० वर्षसम्मको भएको भन्दै वार्षिक २–४ प्रतिशतको दरमा ह्रासकट्टी गर्दै आएको थियो । नाफा घटाउने ठाउँ नपाएपछि प्राधिकरणअन्तर्गतका परियोजनाको आयु कम देखाएर एकैपटक उच्चदरमा ह्रासकट्टी गर्न खोजिएको स्रोतको भनाइ छ ।

आयकर ऐनले परियोजनालाई सुरुवाती समयमा कम कर तिराउन सुरुमै बढी ह्रासकट्टी गरेर नाफा कम देखाउने सुविधा दिएको छ । तर, प्राधिकरणले भने वास्तविक आयुकै आधारमा आफ्नो सम्पत्तिको ह्रासकट्टी गर्दै आएको थियो । अहिले हितेन्द्रले प्राधिकरणको भौतिक सम्पत्तिको आयु कम देखाएर एकैपटक उच्चदरमा ह्रासकट्टी गर्न खोजेको स्रोतको भनाइ छ । 

यद्यपि, यस्तो नोक्सानी देखाउन प्राधिकरणको पूर्ण कर लेखा परीक्षण हुनुपर्छ । प्राधिकरणको आव ०७६/७७ सम्मको पूर्ण कर लेखा परीक्षण भइसकेको छ । त्यसमा कर कार्यालयले प्राधिकरणको सञ्चित नाफा आठ अर्ब रुपैयाँ भएको भन्दै तीन अर्ब रुपैयाँ करसमेत तोकेको थियो । त्यसयताको पूर्ण कर लेखा परीक्षण हुन भने बाँकी छ । यद्यपि, प्राधिकरणले आफूले नाफा कमाएको भन्दै ११ अर्ब रुपैयाँ अग्रिम कर भने तिरिसकेको छ । आव ०७७/७८ को पूर्ण कर लेखा परीक्षण गरेर प्राधिकरणको करयोग्य नाफा–नोक्सान निर्धारण गरी कर तिर्न बाँकी छ । त्यो अवस्थामा प्राधिकरणले बढी ह्रासकट्टी गरेर सञ्चित नाफा–नोक्सान गणना गर्न सक्छ । तर, हितेन्द्रले ऊर्जामन्त्री खड्काको योजनामा लागेर पूर्ण कर परीक्षण नहुँदै धेरै ह्रासकट्टी गरेर सञ्चित नोक्सान देखाइदिएको स्रोतको भनाइ छ ।

यसैगरी, कार्यकारी निर्देशक हितेन्द्रले ०६७/६८ सम्मको सञ्चित नोक्सानीलाई पनि यसमा समावेश गर्न खोजेका छन् । त्यसवेला प्राधिकरण झन्डै २७ अर्ब रुपैयाँले सञ्चित नोक्सानीमा थियो । 

सुझावित समाचार