सहकारी ठगीमा फरार कांग्रेस सांसद राईलाई सरकारको संरक्षण : संसदमै पुगेर हाजिर गरेर बाहिरिइन्, तीन घेराको प्रहरीले ‘नदेखेझैँ’ गर्‍यो

शनिबार, १३ बैशाख, २०८२
डिजिटल संस्करण

बानेश्वरस्थित संसद् भवन प्रवेश गर्ने गेटहरूदेखि बैठक कक्षसम्म पुग्न सांसदहरूले कम्तीमा तीन सुरक्षा घेरा पार गर्नुपर्छ । प्रायः सबै प्रहरीले सबै सांसदलाई चिनेका पनि हुन्छन् । तर, शुक्रबार आठ महिनादेखि फरार एक कांग्रेस सांसद सरासर संसद्भित्र पुगिन्, हाजिरी गरिन् र फर्किइन् । प्रहरीले ‘नदेखेझैँ’ गर्‍यो ।

सहकारी ठगीमा प्रहरीको खोजी सूचीमा रहेकी कांग्रेसकी फरार सांसद माया राई आठ महिनापछि संसद्मा उपस्थित भएकी हुन् । संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार नेपालका अनुसार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा सदस्य राईले संसद्मै पुगेर हाजिर गरेकी छिन् ।

हाजिरलगत्तै उनी हिँडेकी थिइन् । पक्राउ पुर्जी जारी गरेको प्रहरीले भने उनलाई संसद् भवनपरिसरमा भेट्टाएन । अहिले गृह प्रशासनकै संरक्षणमा राईलाई संसद्मा उपस्थित गराइएको संसद्का पदाधिकारी बताउँछन् । उनले संसद्को तलब–भत्ता पनि नियमित बुझेकी छिन् । 

भोजपुरबाट आदिवासी जनजाति कोटातर्फ समानुपातिक सांसद राई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा पक्राउ पुर्जी जारी भएपछि फरार थिइन् । उनी भदौयता सदन र समितिमा अनुपस्थित रहँदै आएकी थिइन् । 

पक्राउ पुर्जी जारी भएर प्रहरीको गिरफ्तारी छल्दै हिँडेकी राई १८ माघदेखि १९ चैतसम्म २७ वटा बैठक चलेको हिउँदे अधिवेशनमा एक दिन पनि उपस्थित भइनन् । राईले अनुपस्थितिको सूचना पनि दिइनन् ।

अधिवेशन सकिएको भोलिपल्ट संविधान र नियमावलीविपरीत पद जोगाउन संसद् सचिवालयको कार्यव्यवस्था तथा परामर्श महाशाखामा बिरामी रहेको भनेर अनुपस्थितिको सूचना दिएकी थिइन् । अग्रिम सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भए स्थान रिक्त हुने संविधानको धारा ८९ (घ)अनुसार राईलाई पदमुक्त गर्नुपर्नेमा सरकार र सभामुखको योजनामा पद जोगाउनका लागि संसद्मा उपस्थित गराई हाजिर गराइएको एक पदाधिकारीले बताए ।

‘पहिलो सहकारी ठगीमा फरार हुनुहुन्छ । गृह प्रशासनकै संरक्षणमा उहाँलाई संसद्मा उपस्थित गराइयो,’ ती पदाधिकारीले भने, ‘दोस्रो उहाँ सूचना नदिएर १० भन्दा बढी बैठकमा अनुपस्थित हुनुभएको छ । यो भनेको स्थान रिक्तताको अवस्था हो । सरकारले गिरफ्तार नगरेको र सभामुखले स्थान रिक्तताको सूचना नटाँसेका वेला उच्च तहकै संरक्षणमा पद जोगाउन हाजिर गराइयो । कानुन बनाउने ठाउँमै विधिको उल्लंघन भयो ।’

यसअघि फरार अवस्थामा एमाले सांसद लक्ष्मी कोइरी महतो संसद्मा उपस्थित हुँदा चर्काे विरोध भएको थियो । फरार अवस्थामा कोइरीको बिरामी बिदा स्वीकृत गराउँदा विपक्षीले सदनमै विरोध गरेका थिए । यद्यपि, कोइरीले पछि अभियोगबाट सफाइ पाएका थिए । अहिले कांग्रेस सांसद राई पनि राज्यकै संरक्षणमा सुटुक्क उपस्थित भई हाजिर गरेर हिँडेकी हुन् । 

त्यस्तै, नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ६९ लाख बचत अपचलनमा राप्रपा सांसद गीता बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउ पुर्जी जारी भए पनि प्रहरीले नियन्त्रणमा लिएको छैन । १२ महिनादेखि संसद्मा अनुपस्थित राईको दुईपटक बिरामी बिदा स्वीकृत गरिदिएर सभामुख देवराज घिमिरेले पद जोगाइदिएका छन् ।

माया राईलाई पक्राउ गर्न अदालतको अनुमति छ, तर गृह प्रशासनको ‘आदेश’ छैन

काठमाडौं परिसरका एसएसपी विश्व अधिकारी भन्छन्–माया राईले संसद्मा हाजिर गरेको विषयमा जानकारी छैन । स्वर्णलक्ष्मी सहकारीको ठगीमा अनुसन्धान चलिरहेकै छ । फरारहरूको खोजीको काम भइरहेको छ ।

सांसद राईलाई प्रहरीले गत कात्तिकमा नै पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो । त्यसवेला ठेगाना खुल्न नसकेको भन्दै उनलाई मुद्दाबाट उन्मुक्ति दिइएको थियो । तर, दोस्रो चरणको अनुसन्धानमा प्रहरीले उनको ठेगाना मात्र होइन, सहकारीको हिनामिनासम्बन्धी निर्णयमै संलग्नता खुल्ने प्रमाण फेला पर्दा पनि पक्राउ गरेको छैन । 

सहकारी ठगीमा संलग्नता पुष्टि हुँदा पनि सत्तारूढ दल कांग्रेसकी सांसद भएकाले उनलाई पक्राउ गर्न गृह मन्त्रालयले स्वीकृति नदिएको प्रहरी स्रोत बताउँछ । पद जोगाउनकै लागि गृह मन्त्रालयसमेतको मिलेमतोमा फरार रहेकै अवस्थामा उनलाई सुटुक्क संसद्मा हाजिर गर्ने वातावरण मिलाइएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंले पहिलो चरणमा अनुसन्धान गरी गत २१ पुसमा ३९ जनाविरुद्ध मुद्दा दायर गरी थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने बताएको थियो । तर, त्यसमा फरार सांसद संसद्मा हाजिर गर्न जाँदा पनि प्रहरीले चासो नदिनुले प्रहरी अनुसन्धान सत्ताको छायामा परेको प्रस्ट भएको छ । 

काठमाडौं परिसरका एसएसपी विश्व अधिकारी सांसद राईले संसद्मा हाजिर गरेको विषयमा जानकारी नभएको बताउँछन् । ‘स्वर्णलक्ष्मी सहकारीको ठगीमा थप अनुसन्धान चलिरहेकै छ,’ उनले भने, ‘फरारहरूको खोजीको काम भइरहेको छ ।’ 

प्रहरी अनुसन्धानका क्रममा सहकारीमा गरेका निर्णयका माइन्युट भेटिएका छन् । ऋण प्रवाह गर्नेलगायत निर्णयमा सांसद राईको हस्ताक्षर भेटिएको स्रोत बताउँछ । उनी दुई कार्यकाल स्वर्णलक्ष्मीको सञ्चालक समितिमा बसेकी थिइन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीका अनुसार सहकारीका माइन्युट र संसद्मा उनले गरेको हस्ताक्षरसमेत ‘म्याच’ भइसकेको छ । 

गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेको सो सहकारीमा सर्वसाधारणको दुई अर्ब ६५ करोड हिनामिना भएको प्रहरी अनुसन्धानमा खुलेको छ । सर्वसाधारणको जाहेरीका आधारमा एक अर्ब १९ करोड रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर भएको थियो । भोजपुर घर भएकी राईको जिबी राईसँग निकटता थियो । सोही आधारमा उनी सहकारीको सञ्चालक बनेकी थिइन् । 

आर्थिक वर्ष ०७३/७४ मा उनी सदस्य हुँदा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, जिबी राई सचिव, सविना आलेमगर कोषाध्यक्ष तथा यामकुमार नाल्बो, राजु बराल र राई सदस्य थिए । पछि ०७४/७५ देखि ०७५/७६ मा उनी सहसचिव हुँदा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, दीपक लामा सचिव, रविना आलेमगर कोषाध्यक्ष तथा भक्तबहादुर भ्लोन र प्रदीप लामा सदस्य थिए । त्यतिवेलादेखि नै गैरकानुनी रूपमा कर्जा प्रवाह हुँदा सहकारी धराशयी भएको अनुसन्धानमा देखिए पनि अन्य सञ्चालकलाई मुद्दा चलाउँदा राईलाई भने अनुसन्धानबाहिरै राखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । 

सुझावित समाचार