सहकारी ठगीमा फरार सांसदद्वय बस्नेत र राईले बुझे २७ लाख तलबभत्ता

आपराधिक कार्यमा संलग्न रहेको भेटिएपछि एक वर्षदेखि फरार सांसदहरूलाई राज्यकोषबाट तलबभत्ता खुवाउनु सुशासनको भद्दा मजाक

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

सहकारी ठगीमा एक वर्षदेखि फरार दुई सांसदले राज्यकोषबाट भने नियमित सेवासुविधा लिइरहेका छन् । संसद् सचिवालयका अनुसार राप्रपा सांसद गीता बस्नेतले १६ लाख र कांग्रेस सांसद माया राईले ११ लाख तलबभत्तासहितको सुविधा बुझेका हुन् ।

सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएर फरार सांसद बस्नेत संसद्मा अनुपस्थित भएको १२ महिना पूरा भएको छ भने राई आठ महिनादेखि अनुपस्थित छिन् । एकातिर सरकारले दुवै सांसदलाई पक्राउ गर्नुको सट्टा संरक्षण गरिरहेको छ भने अर्काेतिर संसद् सचिवालयमार्फत राज्यकोषबाट तलबभत्ता पनि खुवाइरहेको छ ।

संविधान र प्रतिनिधिसभा नियमावलीविपरीत बस्नेतलाई बिरामी बनाएर दुइटा अधिवेशनमा बिदा स्वीकृत गरिएको छ । संविधान र नियमावलीअनुसार समयसीमा नाघेकी राईको स्थान रिक्तताको सूचना टाँस्नुपर्नेमा उनलाई पनि बिरामी बनाएर बिदा स्वीकृत गराई पद जोगाउने प्रयास भइरहेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा नियमावलीअनुसार सांसदद्वय बस्नेत र राईको तलब र अन्य सुविधा भुक्तान भइरहेको बताए । ‘फरार अवस्थामा सेवासुविधा रोक्ने प्रावधान नियमावलीमा छैन । सचिवालयले नियमअनुसार भुक्तानी गरिरहेको छ,’ उनले भने । 

प्रतिनिधिसभा नियमावलीमा कुनै सांसदलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशपछि फरार भएमा मात्रै निलम्बन हुने र यो अवस्थामा मात्र सेवासुविधा पनि रोकिने व्यवस्था छ । तर, पक्राउ पुर्जी जारी भएर फरार रहेमा सुविधा रोकिने कुनै व्यवस्था छैन । 

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ६९ लाख बचत रकम अपचलनमा राप्रपा सांसद बस्नेतविरुद्ध १८ वैशाखमा पक्राउ पुर्जी जारी भएपछि फरार छिन् । कांग्रेस सांसद राईविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार छिन् । पक्राउ पुर्जी जारी भएकी राईलाई मुद्दा दर्ता गर्दा मिसिलबाट नाम हटाएर उन्मुक्ति दिइएको छ । 

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार सांसदहरूले प्रतिमहिना तलब ६६ हजार ७०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा १८ हजार, अतिथि सत्कार एक हजार, बिजुली धारा दुई हजार पाउँछन् । यसबाहेक प्रतिबैठक एक हजार भत्ता, बैठक बसेको दिन यातायात एक हजार, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार पाउँछन् । यसका अतिरिक्त अधिवेशन प्रारम्भ हुँदा र अन्त्य हुँदा निर्वाचन क्षेत्र जाने वा सदन फर्किने हवाई अथवा गाडी भाडा पाउँछन् । यो वेला यात्रा गर्दाको बाटो खर्च (दैनिक २५ सय) पनि पाउँछन् । यसका अलावा औषधोपचार खर्च पनि पाउँछन् । सचिवालयतर्फ स्वकीय सचिव राप तृतीय एकजना सुविधा पाउँछन् । स्वकीयको तलब ४३ हजार ६८९ रहेको छ । 

ऐनअनुसार बस्नेतले फरार १२ महिनाको अवधिमा संसद् सचिवालयबाट १६ लाखभन्दा बढी बुझेकी छिन् भने राईले ८ महिनाको अवधिमा ११ लाखभन्दा बढी पाएकी छिन् । यसमा बस्नेतकी स्वकीय सचिव कुमारी पार्वती लम्साल र राईकी स्वकीय सचिव सोनिया राईले प्राप्त गरेको मासिक तलब पनि जोडिएको छ ।

सुझावित समाचार