१३ वैशाखदेखि स्टुअर्टले जिम्मेवारी सम्हाल्ने

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण
  • मुख्य प्रशिक्षक स्टुअर्ट अस्ट्रेलियामै रहेका कारण पूर्वकप्तान ज्ञानेन्द्र मल्लले हङकङमा हुने चारदेशीय टी–२० आई सिरिजमा नेपाली टोलीको प्रशिक्षण गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले आगामि १३ वैशाखदेखि जिम्मेवारी सम्हाल्ने भएका छन् । अस्ट्रेलियन स्टुअर्टले सबै प्रक्रिया पूरा गरेपछि नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)लाई जानकारी दिएको प्रवक्ता छुम्बी लामाले बताए । ‘आगामी २६ अप्रिल (१३ वैशाख) देखि मुख्य प्रशिक्षक स्टुअर्टले जिम्मेवारी सम्हाल्नेछ,’ लामाले नयाँ पत्रिकासँग भने, ‘उता (अस्ट्रेलिया)मा उहाँको केही प्राविधिक काम बाँकी छ, ती सबै सकाएर नेपालमा आउनेछ ।’

क्यानले डेढ साताअघि स्टुअर्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । १० जनाको सर्ट लिस्टबाट क्यानले नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा उनलाई नियुक्त गरेको हो । स्टुअर्टविना नै नेपाली पुरुष टोली हङकङमा बुधबारदेखि सुरु हुने चारदेश सम्मिलित टी–२०आई सिरिजमा प्रतिस्धर्पा गर्नेछ । क्यानले हङकङमा सहभागी हुने टोलीको प्रशिक्षक जिम्मेवारी पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई दिएको छ । मल्लले पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टोलीका मुख्य प्रशिक्षकको काम गरेका थिए । 

क्यानले स्टुअर्टलाई नियुक्त गरेपछि नेपाल ल्याउनका आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । ‘मन्त्रालयबाट लिनुपर्ने श्रम स्वीकृति र राष्ट्रिय खेलकुद परिषद्बाट लिनुपर्ने क्लियरेन्स आदि काम भइसकेको छ,’ क्यानका प्रवक्ता लामाले भने, ‘अहिले तत्काल उहाँ व्यक्तिगत कारणले तत्काल आउनु भएको होइन ।’ नेपाली टोली सम्हालेपछि स्टुअर्टलाई तत्काल घर फर्कन समय मिल्नेछैन । यसकारण पनि उनी अस्ट्रेलियामा बाँकी रहेका काम सकाएर नेपाल आउने तयारीमा लागेका हुन् । ‘हामीले स्टुअर्टलाई २४ वा २५ अप्रिलसम्म नेपाल आउन भनेका छौँ,’ लामाले भने, ‘उहाँ १३ वैशाखसम्म आबद्ध हुनु हुनेछ ।’ त्यसपछि उनले आइसिसी विश्वकप लिग दुईको तयारी गर्नेछन् । 

नेपाल सातौँ स्थानमा
सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको रोडम्यापसमेत रहेको आइसिसी विश्वकप लिग २ मा नेपालको कमजोर प्रदर्शन छ । नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ अंक मात्र बटुलेको छ । नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालले दुई जित र आठ हारको सामना गरेको छ । एकदिवसीय मान्यता रक्षा गर्न विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन पनि नेपालले अगामी दिनमा उत्कृष्ट नतिजा निकाल्नुपर्छ । लिग २ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई मात्र हराएको छ । 

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका रहेको छ । अमेरिकाले १६ खेलमा ११ जित निकाली सर्वाधिक २२ अंक जोडेको छ । नेदरल्यान्ड्स २० अंकका साथ तेस्रो स्थानमा छ । क्यानडाले १९ खेलमा नौ जित र पाँच हार सामना गरी २० अंक जोडेको छ । एकदिवसीय मान्यता रक्षा गर्न अंक तालिकाको कम्तीमा पाँचौँ स्थानमा रहनुपर्छ । पाँचौँ स्थानमा रहेको ओमान र नेपालबिच १२ अंकको दूरी रहेको छ । 

टी–२० विश्वकपको तयारी
नेपालले हङकङमा हुने टी–२० सिरिजलाई आइसिसी टी–२० विश्वकपको तयारीस्वरूपमा लिएको छ । यो सिरिजमा नेपालले घरेलु टोली हङकङसहित कुवेत र कतारसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२६ को विश्वकप छनोटका लागि नेपालले एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा भाग लिनेछन् । क्यानले सोमबार गरेको बिदाइमा नेपालका कप्तान रोहितकुमार पौडेलले पनि विश्वकपको तयारीस्वरूप आफूहरूले हङकङ सिरिज लिएको बताए । 

‘हामीले हङकङमा राम्रो खेल्नुपर्छ, यसलाई विश्वकपको तयारीको रूपमा लिएको छु,’ पौडेलले भने, ‘टोलीमा केही पुराना खेलाडीले कमब्याक गरेका छन्, हङकङमा राम्रो खेलेर सिरिज जित्ने लक्ष्य छ ।’ यसैगरी, प्रशिक्षक मल्लले चारदेशीय टी–२० सिरिज महत्वपूर्ण प्रतियोगिताका रूपमा रहेको बताए । नेपालले २७ चैतमा कतारसँग, २८ चैतमा कुवेत र ३० चैतमा हङकङविरुद्ध खेल्नेछ । शीर्ष दुई टोलीबिच ३१ चैतमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसै दिन तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि भिड्नेछ । 

क्रिकेटको व्यस्त तालिका
क्यानको क्यालेन्डरअनुसार नेपाली पुरुष टोली सन् २०२५ को सिरिज व्यस्त हुनेछ । हङकङको सिरिजपछि नेपालले जुनमा टी–२०आई सिरिज खेल्नेछ । आइसिसी विश्वकप लिग २ को सिरिजमा सहभागी हुने क्रममा नेपालले स्कटल्यान्डको भ्रमण गर्नेछ । त्यहीँ नै नेपालले घरेलु टोलीसँग टी–२० आईमा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुलाईमा नेपालले टी–२० विश्वकप छनोटको तयारी थाल्नेछ । नेपालले विश्वकपको तयारी श्रीलंकामा गर्नेछ । जुलाईको मौसममा वर्षा हुने भएकाले खेलाडीको तयारीमा असर नपुर्‍याउन क्यानले श्रीलंकामा प्रशिक्षण गराउन लागेको हो ।

त्यसपछि नेपालले अस्ट्रेलिया पाकिस्तान र बंगलादेशको ‘ए’ र अस्ट्रेलियाको बिग व्यासका खेलाडी सम्मिलित टोलीसँग अभ्यास खेल खेल्नेछ । यो सिरिज अगस्टमा हुनेछ । यसैगरी, सेप्टेम्बरमा नेपालले युएईमा टेस्ट टोलीसँग टी–२० सिरिज खेल्नेछ । नेपालले अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । टी–२० विश्वकप २०२६ को एसिया र इस्ट एसिया प्यासिफिक छनोट १ अक्टोबरदेखि ओमानमा हुनेछ । विश्वकप छनोटमा नेपाल, आयोजक ओमान, जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपमा छनोट हुनेछन् । आइसिसीका अनुसार एसिया र इस्ट एसिया प्यासिफिकबाट तीन, युरोप र अफ्रिकाबाट समान दुई तथा अमेरिकन क्षेत्रबाट एक टोलीले २०२६ को विश्वकपमा भाग लिनेछन् । 

सुझावित समाचार