झापाको दमकदेखि इलामको माङसेबुङस्थित चिसापानीसम्मको ३३ किलोमिटर सडकमा निर्माण कम्पनीले लापरबाही गरेपछि तीनमध्ये दुई खण्डको ठेक्का तोडिएको एक वर्ष भयो । दमक–चिसापानी सडकको ३३ किलोमिटर ट्र्याक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा ठेक्का लगाएको थियो । तर, निर्माण कम्पनी लुम्बिनी–गणपति जेभीले काम गर्न नसकेपछि सडक विभागले दुईवटा खण्डको ठेक्का तोडिसकेको छ ।
दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा निर्माण कम्पनीले पाएको थियो । सम्झौतामा दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा २ फागुन ०७९ मा निर्माण सक्नुपर्ने उल्लेख छ । तर, म्यादमा निर्माण सम्पन्न नभएपछि थपिएको दश महिनाको समयमा दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र काम सकिएपछि विभाले ठेक्का तोड्यो ।
तर, काम नगर्ने निर्माण व्यवसायी ठेक्का तोड्ने निर्णयविरुद्ध अदालत जाँदा नयाँ ठेक्का प्रक्रिया सुरु हुन नसकेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । ‘निर्माण व्यवसायीले समयमा काम गर्न नसकेपछि हामीले कानुनबमोजिम ठेक्का तोड्यौँ । ठेक्का तोडेपछि पुनः ठेक्का लगाउनुपर्छ । त्यसको प्रक्रिया छ । भएको कामको मूल्यांकन गरेर बाँकी कामका लागि पुनः अर्थ मन्त्रालयसँग स्रोत सहमति माग्नुपर्छ । हामीले सहमति मागेका छौँ,’ सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने, ‘तर, पुरानो निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रियामा अघि बढ्दा उनीहरूविरुद्ध जिल्ला अदालत झापा र उच्च अदालत पाटन गएका छन् । जिल्लामा ठेक्का सम्झौता यथावत् गरिपाऊँ भनेर गएको छ भने उच्चमा कारबाहीविरुद्ध गएको छ । जसका कारण प्रक्रिया अघि बढ्न सकेन ।’ न्यायिक प्रक्रिया नटुंगिएका कारण पुनः ठेक्का लगाउने काम अघि बढाउन नसकिएको उनले बताए ।
ठेकेदारको कारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् । ‘हामीलाई भनेअनुसार त यो सडक अस्ति नै कालोपत्रे भइसक्नुपर्ने हो । तर, अहिलेसम्म बाटोको हालत उस्तै छ,’ इलामको माङसेबुङ–२ का धनबहादुर राई भन्छन्, ‘यसपटक त बाटो पिच होला कि भन्ने थियो । तर, आसमै निराश भइयो । हिउँदमा धुलोले पुर्छ । बर्खामा यो बाटो हिँड्न सकिँदैन ।’
निर्माण व्यवसायीले समयमा काम नगरेपछि माङसेबुङ गाउँपालिकाले पनि आर्थिक भार व्यहोर्नुपरेको छ । गत वर्षको बर्खाको समयमा सडक ठाउँठाउँमा बिग्रँदा गाउँपालिकाले आफ्नो बजेटबाट १५ लाख खर्चेर सडक मर्मत गरेको गाउँपालिका अध्यक्ष हेमन्त राई बताउँछन् । ‘यो सडक अहिले हिउँदमा पनि धुलोका कारण हिँड्नै नसक्ने छ । बर्खामा त झनै बेहाल हुन्छ । हामीले पहल गरिरहेका छौँ । फेरि ठेक्का प्रक्रिया अघि बढाउन तयार छौँ भनेर आश्वासन आएको छ,’ उनी भन्छन्, ‘तर, पहिलाको निर्माण व्यवसायी अदालत गएका कारण प्रक्रिया अघि बढाउन नसकेको संघीय सरकारले भन्दै आएको छ । पहिलाको निर्माण व्यवसायीलाई काम गर्न केही समस्या थिएन । पैसा अभाव पनि हैन । काम गर्ने वातावरण पनि हामीले राम्रो बनाइदिएका थियौँ । ठेकेदारका कारण हामीले समस्या झेल्नुपर्यो ।’
पहिलो खण्डको सात किलोमिटरको ठेक्काको मिति पनि पटक–पटक थपेर काम भइरहेको छ । सो खण्डमा निर्माण व्यवसायीले जरिवाना तिरेर काम गरिरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर सडक निर्माणका ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाखमा ठेक्का लागेको थियो ।