अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित सरस्वती मावि नजिकै रहेको नमुना बस्तिमा भिषण आगलागी भएको सूचना नेपाली सेनालाई आयो । सेनाको सेटबाट तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराइयो । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको आदेशलगत्तै गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले सेनानी अमृत खड्काको नेतृत्वमा उद्दार टोली खटाए । उद्दार टोलीसँगै तिमिल्सैन स्वास्थ्य चौकीको एम्बुलेन्स पनि साइरन बजाउँदै घटनास्थल पुग्यो । उनीहरुले आगो नियन्त्रणमा लिएर घाइतेको उद्दार गरे । तर, यो वास्तविक घटना थिएन । विपद् जोखिम न्युनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले गरिएको कृत्रिम अभ्यास थियो ।
गोरख बक्स गण मंगलसेन ब्यारेकले बान्नीगढी जयगढ गाउँपालिकासँग मिलेर विपद्पछिको खोज, उद्दार, उपचार र राहतबारे सर्वसाधारणलाई सचेतना दिन शुक्रबार जयगढस्थित सरस्वती माविको प्राङ्गणमा कार्यक्रम राखेको थियो । आगलागी, भुकम्प र बाढिपहिरोमा फसेकाहरुको उद्दारबारे कृत्रिम अभ्यास गराउँदै गणका जमदार सुवर्ण खड्काले आगो र भुकम्पको परिचयसहित यसबाट हुने क्षति न्युनीकरण बारे जानकारी गराए । ‘आगो लाग्ने वित्तिकै आत्तिएर भाग्ने हैन, सही तरिका अपनाउने हो भने आगो निभाउन सकिन्छ । धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ,’ कृत्रिम घटनाका क्रममा उनले भने, ‘यस्तो बेला सचेत हुनुपर्छ । सावधानी अपनाएर सबै मिलेर उद्दार गर्नुपर्छ ।’

भुकम्पका बेला अपनाउनुपर्ने सावधानी तथा बाढिपहिरो र भिरमा फसेकाहरुको उद्दारबारे पनि उनले कृत्रिम घटनाका क्रममा जानकारी गराए । कृत्रिम घटना अभ्यासपछि बोल्दै बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले नेपाली सेनाको यो कार्यले विपद्बाट हुने क्षति घटाउन सहयोग पुग्ने विस्वास व्यक्त गरे । ‘यो अभ्यास हेरेर धेरैले सिक्ने मौका पाए, यहाँहरुलाई धन्यवाद छ,’ उनले भने,‘विपदको सामना गर्न हामी सबैले हातेमालो गर्नुपर्छ ।’
उनले विपद जोखिम बारे स्थानीय सरकार, सेना, प्रहरी र स्थानीयहरु बिच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिए । जिल्ला विपद व्यवस्थापन समिति अछामका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लम्सालले सानो असावधानीले ठूलो दुर्घटना हुन सक्ने भएकोले सचेत हुनुपर्नेमा जोड दिए । त्यसका लागि नेपाली सेनाले गरेको यो कृत्रिम अभ्यास फलदाइ हुने विस्वास व्यक्त गरे । ‘विपदमा जसलाई नि अन्यौल हुन्छ । त्यसैले यहाँ सिकेका उपायहरु काम लाग्छन्,’ प्रजिअ लम्सालले भने, ‘सही ढंगले त्यो बेला यी सिप प्रयोग गर्ने हो भने ठुलो दुर्घटना हुन पाउँदैन ।’
बुधबारदेखि तीन दिनसम्म गोरख बक्स गणले जयगढमा विपद जोखिम न्युनीकरण बारे प्रशिक्षण सहित कृत्रिम घटना अभ्यास गरेर सचेतनामुलक कार्यक्रम गरेको हो । जसमा आगलागी, भुकम्प र बाढिपहिरो तथा खोचमा फसेकाहरुको उद्दार बारे प्रशिक्षण समेत दिइएको थियो । गणका सेनानी अमृत खड्काको नेतृत्वमा भएको प्रशिक्षण तथा कृत्रिम घटना अभ्यासमा जमदार सुवर्ण खड्का, अमल्दार प्रेम देवकोटा, बुद्धी बहादुर भण्डारी र प्युठ सञ्जु खत्रीले प्रदर्शनी अघि प्रशिक्षण दिएका थिए ।

त्यसपश्चात आगलागी र भुकम्पको कृत्रिम घटनामा हुद्दा भेषराज बोहरा र रामबहादुर बिक, अमल्दार टेकबहादुर खड्का, नेत्र बहादुर मास्की, प्युठ निर्मला दुवाल र सिपाहीहरु साधना बिष्ट, गिता राना र नन्दा वली तथा गाउँपालिकाका सवइन्जिनियर स्वर्ण पौडेल (ढुंगाना) र स्थानीय विद्यार्थीहरुले अभिनयमार्फत घटना प्रस्तुत गरेका थिए ।
हाइलाइन रेस्क्युमा भने सरस्वती माविमा कक्षा ५ मा अध्यनरत नौ वर्षीय क्रिस ताम्राकारले घाइतेको अभिनय गरेका थिए भने गणका प्युठ सुजन बरामु र नेत्र बहादुर पराजुलीको समुहले उनलाई उद्दार गरेका थिए । गोरख बक्स गणले अभियानकै रुपमा अछाममा विपद बारे प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास गरिरहेको छ । यसअघि जिल्लाको ढकारी र चौरपाटी गाउँपालिकामा पनि यो अभ्यास गरिएको थियो । अछामका दशवटै स्थानीय तहमा यो कार्यक्रम गरिने गणपति अधिकारीले जानकारी दिए ।