प्रेस चौतारीको दसौँ महाधिवेशन सुरु नहुँदै बालुवाटारले तोक्यो अध्यक्ष

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण
प्रेस चौतारीको दसौँ महाधिवेशन सुरु नहुँदै बालुवाटारले तोक्यो अध्यक्ष

उपाध्यक्ष राजेश राई र प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डे

ओलीले दुईपटक निर्णय फेर्दै प्रचार विभाग सचिव पाण्डेलाई तोके अध्यक्ष, उपाध्यक्ष राईले घोषणा गरे अध्यक्षमा उम्मेदवारी 

एमालेसम्बद्ध पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दसौँ महाधिवेशन सुरु हुनुअगाडि नै अध्यक्ष केपी ओलीले पार्टी प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेलाई अध्यक्ष बनाउने निर्णय गरेका छन् । चौतारीको महाधिवेशन आइतबार कोशी प्रदेशको विराटनगरमा सुरु हुँदै छ । 

महाधिवेशनअगावै बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख तथा चौतारीका इन्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई बोलाएर पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएका हुन् । अध्यक्षसँग भएको छलफल र निर्णयका आधारमा चौतारीको अध्यक्षसहित पदाधिकारीहरू सर्वसम्मत चयनका लागि पहल भइरहेको इन्चार्ज गौतमले बताएका छन् ।

पाण्डेले चौतारीको अध्यक्ष बन्नकै लागि प्रचार विभाग सचिवबाट शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा राजीनामा बुझाएका छन् । तर, उनको राजीनामा भने औपचारिक रूपमा स्वीकृत गरिएको छैन । 

यसअघि अध्यक्ष ओली तथा महासचिव शंकर पोखरेलले अर्का उपाध्यक्ष राजेश राईलाई सर्वसम्मत अध्यक्ष बनाउने सन्देश दिएका थिए । उनलाई सर्वसम्मत अध्यक्ष बनाउने भनिएकैले पाण्डेलाई विभागको सचिव बनाइएको चौतारीमा चर्चा हुँदै आएको थियो ।

गत १६ फागुनमा प्रधानमन्त्री ओलीले पाण्डेलाई सचिव बनाएर राईलाई चौतारीको अध्यक्ष बनाउने गरी सहमति जुटाएका थिए । त्यसलगत्तै १८ फागुनमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले उनलाई सचिव बनाएको थियो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाण्डेलाई सचिव बनाउने प्रस्तावप्रति प्रश्न उठाएपछि अध्यक्ष ओलीले अधिकांश नेताहरूले राईकै अवस्था बलियो भएको रिपोर्टिङ गरेको र नेतृत्वमा अगाडि सार्दा उपयुक्त हुने सुझाव दिएको भन्दै निर्णय गराएका थिए । 

पाण्डेले प्रचार विभाग बैठकमा पद तथा गोपनीयताको शपथ लिएर कार्यभार पनि सम्हाले । तर, अचानक बुधबार पुनः पाण्डेलाई अध्यक्षमा सार्ने निर्णय भएपछि राईले चुनावी प्रतिस्पर्धाका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । घोषणामार्फत आगामी दिनका कार्ययोजना पनि राईले सार्वजनिक गरेका छन् ।

त्यस्तै, अध्यक्ष ओलीले महासचिव चेतन अधिकारी बनाउन निर्देशन दिएका छन् । उनी प्रधानमन्त्री हुँदा प्रेस संयोजक रहेका अधिकारीलाई संस्थापनका तर्फबाट उम्मेदवारका रूपमा अगाडि सारिएको छ ।

सुझावित समाचार