बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माओवादी सांसदको माग

बिहिबार, ७ चैत, २०८१
डिजिटल संस्करण
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माओवादी सांसदको माग

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरु नभएकोमा सरकारलाई प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले राष्ट्रिय गौरवको आयोजना भनिए पनि यसले सोअनुसार प्राथमिकता नपाएको बताए। ‘यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिए पनि त्यही प्राथमिकताका साथ गरिनुपर्ने कामहरू अघि बढिरहेका छैनन्। यस आयोजनाबाट प्रभावित गोरखा र धादिङका जनता अन्याेलमा बस्नुपरेको छ,’ उनले भने।

आयोजनाको काम अघि नबढ्दा पालिकाहरूमा विकास निर्माणका काममा प्रभाव परेको र नागरिकमा अविश्वास पैदा भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि काम हुने गरी बजेट व्यवस्था गर्न माग गरे।

उनले भने, ‘जलाशययुक्त राष्ट्रिय गौरवको यस जलविद्युत् आयोजनाले नियमित विद्युत आपूर्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले आगामी आ.व ०८२/८३ देखि निर्माण सुरु गर्ने गरी आवश्यक व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।’

सुझावित समाचार