बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा भएको झडप करिब १८ घण्टापछि नियन्त्रणमा आएको छ । शुक्रबार राति ११ बजेबाट सुरु भएको झडप शनिबार दिउँसो २ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो । झडपमा ६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
दुई पक्षबिच होली मनाउने विषयमा विवाद सुरु भएको थियो । विवादले उग्र रूप लिएपछि एउटा समूहले त्यहाँ खटिएका प्रहरीमाथि आक्रमण प्रयास गरेपछि बाल सुधारगृहमा कार्यरत प्रहरी ज्यान जोगाउन बाहिर भागेका थिए । मूल गेट तोडफोड गरी उनीहरूले प्रहरीलाई दुई किलोमिटर टाढासम्म लखेट्दै कुटपिट गरेका छन् । कुटपिटबाट आधा दर्जन प्रहरी घाइते भएका छन् ।
प्रहरीलाई लखेट्दै गएका बालबन्दीले स्थानीय पसलमा समेत लुटपाट गरेका छन् । बालबन्दीले करिब तीन लाख रुपैयाँबराबरको सामान, पैसा, मोबाइल र रिचार्ज कार्ड लुटेर लगेको पीडित फुलकुमारी कलवारले बताइन् । उनले अहिलेसम्म यस्तो घटना नदेखेको बताउँदै पसलको सटर तान्दातान्दै भित्र पसेर सामान, पैसा, मोबाइल र रिचार्ज कार्ड लुटेर लगेको गुनासो गरिन् । ‘मैले यस्तो घटना अहिलेसम्म देखेको र भोगेको थिइनँ । मैले सटर बन्द गरेँ, तर उनीहरूले सटर माथि उठाएर भित्र पसी लुटपाट गरे,’ उनले भनिन्, ‘त्यो दृश्य अहिले पनि झलझली याद आइरहेको छ । सम्झिँदा डरले मुटु काँप्छ । अहिलेसम्म राम्रोसँग बोल्न सकिरहेकी छैन ।’
झडप नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । ‘अथक प्रयास र मिहिनेतपछि बालबन्दीको झडप नियन्त्रणमा आएको छ । सुरुमा प्रहरीलाई गेटभित्र छिर्नसमेत दिइएको थिएन । सम्झाइबुझाइ गरी भित्र पसेर नियन्त्रणमा लिइएको छ,’ उनले भने । स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरिएको उनले बताए । बालबन्दीहरूले सुधारगृहनजिकैको घरमा तोडफोड गर्नुका साथै परालको कुन्युमा आगजनीसमेत गरेका छन् । बालगृहका बालबन्दीबाट आफूहरू एकदमै असुरक्षित रहेको स्थानीयको भनाइ छ । वेलाबखत झडप भइरहने भएकाले न दिनमा चैन र न रातमा निद्राको अवस्थामा रहेको उनीहरूको भनाइ छ ।
बालबन्दीबिच शुक्रबार दिउँसोदेखि नै विवाद भएको थियो । राति केही शान्त भए पनि शनिबार बिहान ११ बजेतिर बालसुधारगृहमा रहेका अढाई सय बालबन्दी एकसाथ बाहिर निस्केको स्थानीय बताउँछन् । उनीहरूले त्यहाँ कार्यरत प्रहरीलाई दुई किलोमिटर टाढासम्म लखेट्दै कुटपिट गरेको स्थानीय हेमन्तकुमार शर्माले बताए । उनले फिल्ममा देखेको दृश्य प्रत्यक्ष देखेको बताए । स्थानीयले दुःख पाउन थालेपछि यसलाई व्यवस्थित बनाउन र स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । बालबन्दीहरू जबर्जस्ती घरभित्र पस्ने र प्रहरीले खानतलासी लिँदा स्थानीयले दुःख पाएको उनको भनाइ छ । बालसुधारगृह व्यवस्थित नगरिए सञ्चालन हुन नदिने उनले चेतावनीसमेत दिए ।
जयन्दु बालसुधारगृह स्थानीय प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले यहाँ न बल प्रयोग गर्न पाउँछ, न त प्रहरी परिचालन नै । १८ वर्ष नपुगेका बालकलाई राख्न बनाइएको बालसुधारगृहमा ३०–३५ वर्षसम्मका बन्दीलाई राख्दा सधैँ लफडा हुने गरेको मानव अधिकारकर्मी भोला महतले बताए ।
प्रहरीको मोटरसाइकल कब्जा गरेर लागुऔषध ओसारपसार
डुडुवास्थित जयन्दु बालसुधारगृह लागुऔषधको अखडा बनेको छ । झडप चलिरहेका वेला सुधारगृहका नाइकेले प्रहरीको मोटरसाइकल कब्जामा लिई बाहिरबाट लागुऔषध ल्याएका थिए । सुधारगृहका नाइके र उनका सहायकले प्रहरीको मोटरसाइकल कब्जामा लिएर लागुऔषध नाइट्रोजेपाम ट्याब्लेट लिएर आएको फेला परेको प्रहरीले जनाएको छ । उनले बाहिरबाटै लागुऔषध सेवन गरेर आएका थिए । बाहिर जाने बहानामा नाइके र सहायक नाइकेले ब्राउनसुगर, नाइट्रोजेपाम, भ्याट र मादक पदार्थ लैजाने गरेको स्थानीय बताउँछन् ।
डुडुवा गाउँपालिका– ६ का वडाध्यक्ष मोहनराम मिश्रले सुधारगृहमा कार्यरत सुरक्षाकर्मी र नाइके तथा सहायक नाइकेहरू बाहिर गएर मादक पदार्थ सेवन गर्ने गरेको सूचना पाएको बताए । ‘नाइके, सहायक नाइके र सुरक्षाकर्मी सुधारगृहबाहिर गएर सँगै मादक पदार्थ सेवन गरेको सूचना पाएको छु,’ उनले भने । उनले लागुऔषध र मादक पदार्थ झडपको प्रमुख कारण भएको बताए । ‘नाइकेहरू लागुऔषध र मादक पदार्थ सेवन गरेर सुधारगृहमा जान्छन् । उनीहरूले सेवन मात्र गर्दैनन्, बिक्रीका लागि भित्र पनि लैजान्छन् । लागुऔषध नै झडपको प्रमुख कारण हो भन्नेमा दुई मत छैन,’ मिश्रले भने ।
सुधारगृहमा गत २५ असारमा पनि दुई पक्षबिच झडप भएको थियो । खाना खाने विषयमा बालबन्दीबिच झडप हुँदा ६३ जना फरार भएका थिए । झडप भएपछि उच्छृंखल गतिविधिमा संलग्न केहीलाई नौवस्तास्थित क्षेत्रीय कारागारमा स्थानान्तरण गरिएको थियो ।
यस्तै, ५ असोज ०८० मा पनि झडप भएको थियो । झडपमा कपिलवस्तु रुद्रपुरका करिब २१ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । झडपमा परी १० जना घाइते भएका थिए । तोडफोडबाट सुधारगृह र कार्यालय भवनको झ्यालका सिसा फुट्नुका साथै कार्यालयमा रहेका कम्प्युटरलगायतका उपकरणमा क्षति पुगेको थियो । सुधारगृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । बालसुधारगृहमा रहेका युवाको समूहले आफूले खाने थाल, कटौरा, गिलाससमेत बाहिर फालेका थिए ।
१५ पुस ०७९ मा जयेन्दु बालसुधारगृहबाट जबर्जस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तव्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएका थिए । पछि पक्राउ गरेर उनीहरूलाई २९ माघमा बाँकेबाट सरुवा गरी सानोठिमी ल्याइएको थियो । सुधारगृहस्थित कैदीबन्दीलाई कारागार तोडफोड गर्न र भगाउन उक्साउने कार्यमा उनीहरूको भूमिका थियो । त्यसअघि उनीहरू कपिलवस्तुस्थित सुधारगृहमा थिए । त्यहाँ रहँदा बदमासी गरेपछि उनीहरूलाई सरुवा गरेर बाँके लगिएको थियो ।
बाल सुधारगृहमा झडपका शृंखला
३ भदौ ०८० मा भक्तपुरको सानोठिमीस्थित बालसुधारगृहमा सामान्य बिरामी परेका कमल बस्नेतको उपचारका क्रममा मृत्यु भयो । सुधारगृहका बालबन्दी आन्दोलित भए । सुधारगृहमा तोडफोड मच्चियो । उग्र बनेका बालकहरू सुधारगृहको गेट फोडी नारा–जुलुस लगाउँदै सडकमा निस्किए । घटनामा संलग्न हुने सबै वयस्क थिए । घटनामा २२ घाइते भए । २७ भदौ ०८० मा पर्सा वीरगन्ज महानगरपालिका–४ बिर्तामा रहेको बालसुधारगृहमा झड भयो । ८ भदौ ०८० मा भक्तपुर सुधारगृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगन्ज ल्याएदेखि आन्तरिक विवाद सुरु भएको थियो । बालकैदीहरूले भक्तपुर सुधारगृहबाट स्थानान्तरण भएर आएका १८ मध्ये १३ जनालाई सरुवा गर्न माग राखेका थिए । तर, प्रशासनले मानेको थिएन । सोही विषयलाई लिएर बालबन्दीहरूले सुधारगृहमा तोडफोड मच्चाएका थिए । भक्तपुरबाट स्थानान्तरण गरी बाँकेको नौवस्तास्थित सुधारगृहमा केही बालक लगियो । सुधारगृहमा १५ पुस ०८० मा दुई समूहबिच झडप भयो । त्यसक्रममा सुधारगृहमा रहेका असिर रावल गम्भीर घाइते भए । उग्र बनेका बालकहरूले सरकारी गाडी पनि तोडफोड गरेका थिए । सँगै उनीहरूले सुधारगृहको कोठाभित्र ओछ्याइएका पार्केट पनि झिकेर फालेका थिए ।