राष्ट्रिय सभामा अझै सुरु भएन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

 संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालनमा विलम्ब भएको छ । १८ माघदेखि फागुन मसान्तसम्मका दुइटा क्यालेन्डर बनाएर सदन चलाउँदा राष्ट्रिय सभाले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात गर्ने विषयलाई कार्यसूचीमा राखेको छैन । जबकि १८ माघदेखि सुरु संघीय संसद्को हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा ७ चैतमा दोस्रोपटक प्रश्नोत्तर कार्यक्रम तय भएको छ । 

सभामुख देवराज घिमिरेले बुधबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम तय गर्दै ३ चैतभित्र प्रश्न दर्ता गराउन सकिने जानकारी समूह ९ का सांसदहरूलाई गराएका छन् । प्रतिनिधिसभाले यसअघि अधिवेशन प्रारम्भ भएपछि ४ फागुनमा प्रत्यक्ष प्रश्नोत्तर सञ्चालन गरेको थियो । १० सांसदले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । 
राष्ट्रिय सभाले नियमावली राखेको एक महिना बितिसक्दा पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनमा आउन सकेको छैन । १८ फागुन ०८० मा आफ्नो नियमावली संशोधन गर्दै कार्यकारी प्रमुखलाई जनताप्रति थप उत्तरदायी बनाउन परिच्छेद ८ (क) मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउने व्यवस्था गरेको छ ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरुवात गर्न राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पहल पनि गरेका छन् । तर, ठोस रूपमा निष्कर्षमा पुग्न सकिएको छैन । ‘अबको दिनमा हुन्छ । चैतमा सुरु गर्ने प्रयत्न हुन्छ । नीतिगत रूपमा भन्दा पनि प्राविधिक ढंगले रोकिएको हो । माननीयज्यूहरूले प्रश्न ल्याएपछि म स्वीकृत गरिदिन्छु । प्रधानमन्त्री त तयारै हुनुहुन्छ,’ अध्यक्ष दाहालले भने । 

संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले नियमावलीमा संशोधनमार्फत प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिए पनि कार्यान्वयनमा आउन नसकेको बताए । राष्ट्रिय सभा नियमावलीको नियम ५५ (क) मा ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि अध्यक्षले प्रत्येक महिनाको तेस्रो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने’ उल्लेख छ ।  

राष्ट्रिय सभामा कांग्रेस प्रमुख सचेतक कृष्णबहादुर रोकायले हिउँदे अधिवेशनमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालनमा ल्याइने बताए ।  रोकायले चैतको क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई समावेश गर्ने बताए । राष्ट्रिय सभामा एमाले प्रमुख सचेतक भगवती न्यौपानेले ढिलो भए पनि अब सुरुवात गरिने बताइन् । माओवादीका प्रमुख सचेतक गोपी सार्की अछामीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनका लागि सदनमा आवाज उठाउने बताए । 

सुझावित समाचार