मुद्रास्फीति ४.१६ प्रतिशत

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्रै देखिएको हो।

राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १२.८० प्रतिशत देखिएको छ। त्यस्तै, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ।

मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने २.९८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९१ प्रतिशतले बढेको छ। त्यसैगरी कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६, मदिराजन्य पेयपदार्थको ५.०८, यातायातको ५.०१, सुर्तीजन्य पदार्थको ४.१० र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ।

यो अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ।

प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५, मधेश प्रदेशको ३.९१, बागमती प्रदेशको ३.३५, गण्डकी प्रदेशको ३.४०, लुम्बिनी प्रदेशको ४.१६, कर्णाली प्रदेशको ४.०५ र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ। त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३, तराईको ४.२५, पहाडको ४.११ र हिमालको ५.२१ प्रतिशत रहेको छ। रासस

सुझावित समाचार