नेकपा (एकीकृत समाजवादी)ले प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूको सम्पूर्ण कुकर्मलाई नांगेझार पार्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत्, नागरिक समाज र आमजनसमुदायमा अपिल गरेको छ।
सोमबार आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकबाट विशेष प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीले यस्तो आह्वान गरेको हो।
नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधिहरू बढेकाे भन्दै बैठकले गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र मात्रै रहेको प्रस्ट्याएको छ। अहिले भइरहेका काम र अभ्यासहरूको गम्भीर आत्मसमीक्षा गर्नुपर्नेसमेत बैठकले औँल्याएको छ।
‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा गरेका सम्पूर्ण कुकर्महरूलाई नांगेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत्, नागरिक समाज र आमजनसमुदायमा अपिल गर्दछौँ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
