पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य बिमाको रकममा अनियमितता भएको भेटिएको छ । सेवाग्राहीबाट लिइएको १०% रकम अस्पतालको काउन्टरमा बस्ने कर्मचारीले रातिको समयमा सफ्टवेयरमा ‘रिफन्ड’ लेख्दै आफ्नै खल्तीमा राखेको भेटिएपछि छानबिनका लागि समिति बनाइएको छ ।
बिमामार्फत सेवा लिनेले १०% नगद बुझाउनुपर्ने नियम छ । कर्मचारीले दिउँसोको समयमा बिरामीसँग लिएको रकम बिमाको सफ्टवेयरमा रातिराति ‘रिफन्ड’ गरेको भेटिएपछि प्रतिष्ठानका शाखा अधिकृत सुशीलकुमार अर्यालको संयोजकत्वमा छानबिनका लागि कार्यदल बनाइएको हो ।
संयोजक अर्यालका अनुसार सिस्टममा रिफन्ड गरिएको भनिएको रकमको तथ्यांक अस्वाभाविक देखिएको छ । ‘यस विषयमा केही समयअघिदेखि गुनासो आएको थियो । त्यसपछि गत १० फागुनमा सिस्टममा हेर्दा बिमातर्फको काउन्टरबाट भएको रिफन्ड डाटाको कारोबार अस्वाभाविक देखिएपछि कार्यदल गठन गरी छानबिन थालिएको हो,’ उनले भने ।
हाल चालू आर्थिक वर्षको कारोबार सिस्टममा हेर्ने काम भइरहेको उनले बताए । ‘बिरामीले तिरेको पैसा सेवा प्राप्त गर्न नसकेमा वा नगरेमा फिर्ता दिने नियम छ, कार्यदलले आफ्नो काम सुरु गरेको छ, केही दिनमा प्रतिवेदन आएपछि के भएको हो, यथार्थ कुरा बाहिर आउला,’ अर्यालले भने ।
अस्पताल स्रोतका अनुसार त्यसरी ‘रिफन्ड’ लेखिएको रकम एक करोड हाराहारी छ । सिस्टममा हेर्दा सेवाग्राहीले तिरेको रकम प्रायः रातिको समयमा धेरै फिर्ता गरिएको देखिएको अस्पतालका कर्मचारी बताउँछन् ।
बिमातर्फका कर्मचारीले सिस्टममा फिर्ता देखाएर आफ्नै गोजीमा राखेर अनियमितता गरेको स्रोतको भनाइ छ । विशेषगरी ठुला परीक्षणमा लिइने रकम सिस्टमबाट फिर्ता गरेको भेटिएको छ ।