सिराहामा विजय लघुवित्तद्वारा तीनदिने स्वास्थ्य शिविर सञ्चालन

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

विजय लघुवित्त वित्तीय संस्थाको सहयोगमा सिराहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यसको उद्घाटन धनगढी माई नगरपालिकाका मेयर शिवशंकर महतोले गरेका हुन् । 

विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान तथा रोकथामबारे सचेतना जगाउन शिविर सञ्चालन गरिएको हो । महिलाहरूको पाठेघरको क्यान्सरको प्रारम्भिक परीक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको शिविरमा नाक, कान, घाँटीसहित स्त्रीरोगसम्बन्धी सेवासमेत उपलब्ध गराइँदै छ । बिहीबारदेखि सुरु भएको शिविर १७ फागुनसम्म चल्नेछ ।

पहिलो दिनमै करिब दुई सय स्थानीय महिलाले स्वास्थ्य जाँच गराएको लघुवित्तले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मेयर महतोले आफ्नो क्षेत्रमा शिविर सञ्चालनमा महत्वपूर्ण सहयोग गरेको भन्दै लघुवित्तलाई धन्यवाद दिए । वित्तीय संस्थाले यस्ता कार्यक्रम आयोजना गर्नु आफैँमा सुखद पक्ष रहेको बताउँदै उनले आफ्ना पालिकाका धेरै महिला दिदीबहिनीले शिविरबाट लाभ लिने विश्वास पनि व्यक्त गरे । 

त्यस्तै, लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले संस्थाले वित्तीय सेवा मात्रै नभई सामाजिक कार्यसमेत गर्दै आएको उल्लेख गर्दै विगतमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा विशेषज्ञ चिकित्सक डा. विवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराएका थिए । शिविर सञ्चालनका लागि लघुवित्तले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र धनगढीमाई नगरपालिकाबिच समन्वय गरी आर्थिक सहयोग जुटाएको थियो ।

सुझावित समाचार