राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो लाेसारको शुभारम्भ  गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो लाेसारको शुभारम्भ गरेका हुन् ।  

सो अवसरमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो लाेसारजस्ता पर्वहरूले सबै नेपालीबिच आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए । उनले  नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको तथा यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।

राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, संवर्द्धन तथा विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।  

सो अवसरमा खेम्पो लामा आचार्यले लाेसारबारे जानकारी गराएका हुन् । कार्यक्रममा लाेसारसम्बन्धी गीत तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो ।

सुझावित समाचार